मध्यपूर्वका देशहरुमा फ्रान्सेली सामान बहिष्कार अभियान



एजेन्सी कात्तिक १० ।

फ्रान्सले मध्यपूर्वका देशहरुलाई आफ्ना सामानहरुको बहिष्कार अभियानलाई अन्त्य गर्न आग्रह गरेको छ ।

राष्ट्रपति इम्यानुय माक्रोंले पैगम्बर मोहम्मदको कार्टुन देखाउन पाउनु पर्ने अधिकारको पक्षमा अभिव्यक्ति दिएपछि मध्यपूर्वका देशहरुमा फ्रान्सको सामानहरु बहिष्कारको अभियान चलाइएको छ । फ्रेन्च उत्पादनहरू कुवेत, जोर्डन र कतारका केही पसलबाट हटाइएको छ । यसैबीच, लिविया, सिरिया र गाजा पट्टीमा विरोध देखिएको छ ।

फ्रान्सको विदेश मन्त्रालयले सामान बहिष्कारको आह्वान कट्टरपन्थी अल्पसंख्यकहरुले चलाएको अभियान भनेको छ । फ्रान्सका एक शिक्षकले कक्षा कोठामा पैगम्बर मुहम्मदको कार्टुन देखाउँदा उनको हत्या गरिएपछि राष्ट्रपति म्याक्रोंले दिएको प्रतिक्रिया स्वरुप अरब राष्ट्रमा विरोध भएको हो ।

उनले शिक्षकको हत्यापछि इस्लामिकहरुले हाम्रो भविष्य चाहन्छन् तर फ्रान्सले आफ्नो कार्टुन छाड्दैन भन्नु भएको थियो । इस्लाम धर्ममा मोहम्मद र अल्लाहको कुनै पनि चित्र र मूर्तिहरु बनाउन निषेध गरिएको छ । मोहम्मद र अल्लाहको चित्र बनाउनुलाई इस्लाम धर्ममा अपराधको रुपमा ब्याख्या गरिन्छ ।

फ्रान्स धर्मनिरपेक्ष राष्ट्र भएपनि एक विशेष समुदायको भावनालाई जोगाउन अभिव्यक्ति स्वतन्त्रतालाई रोक्न नसकिने भन्दै आएको छ । अरव जगतमा उत्पन्न प्रतिक्रियाहरुलाई लिएर राष्ट्रपति म्याक्रोंले एक ट्वीट गर्दै आफुहरु विश्वब्यापी मूल्य र मानवीय गरीमाको पक्षमा रहेको भन्दै कहिल्यै पनि हार नमान्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्