प्रधानमन्त्री कप क्रिकेट : सुदुरपश्चिमको सान्त्वना जित



काठमाडौं माघ ११ ।

सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ ।

यसअघि नै समूह बी मा लगातार तीन खेल हार्दै बाहिरिसकेको सुदूरपश्चिमले आफ्नो अन्तिम खेलमा प्रदेश २ लाई ४ विकेटले पराजित गरेको हो ।

प्रदेश २ ले दिएको १९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमका लागि सन्जु दमाईले सर्वाधिक ५७ रन बनाए । यस्तै खडग बोहराले ४३ र गजेन्द्र बोहराले ३७ रन योगदान गरे । अरुण ऐरीले १९ रन जोडे ।

प्रदेश २ का लागि कुमार थापाले ३ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४२ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो ।

प्रदेश २ को लागि ओपनर हरिशंकर शाहले अर्धशतक बनाए । उनले सर्वाधिक ६० रन बनाए । त्यसका लागि ७३ बल खेल्दै ९ चौका प्रहार गरे । यस्तै विवेक यादवले ५२ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा ४१ रन बनाए । मेहबुब आलमले २३ रन जोडे । कुमार थापा ११ रनमा अविजित रहे । सुदूरपश्चिमका लागि शेर मल्ल र नरेन्द्र साउदले ३(३ तथा अरुण ऐरीले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्