दल दर्ताको तयारीमा निर्वाचन आयोग



काठमाडौं, माघ १७। निर्वाचन आयोगले १७ र २७ वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन गर्न असहज हुने निष्कर्षसहित निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोगले निर्वाचनका लागि आवश्यक पर्ने काम अघि बढाउनुपर्ने भएकाले आयोगले दल दर्ताको आह्वान गर्दै सूचना प्रकाशन गर्ने तयारी गरेको जानकारी दिए ।

‘निर्वाचनमा भाग लिन चाहने दलहरूले निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गर्नुपर्छ । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न पनि आयोगले अब दल दर्तालगायतका काम अघि बढाउनुपर्छ । दल दर्ता गर्न आयोगले आह्वान गर्दै सूचना प्रकाशन गर्ने तयारी गर्दै छ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्