‘खोप खरिद प्रक्रिया अघि बढ्यो’



काठमाडौं, माघ १७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो चरणको खोप अभियान सञ्चालन गर्न सरकारले खरिद प्रक्रिया अघि बढाएको बताएका छन्।

‘भारतसँग कुरा नगरी जसरी एकै पटक अनुदानमा खोप आयो। त्यसैगरी खरिद प्रक्रियाबाट पनि कसैलाई नभनी आउँछ। त्यसका लागि सरकारले आधार खडा गरेर प्रक्रिया अघि बढाइसकेको छ’, पश्चिम नवलपरासीको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा सञ्चालित खोप अभियानको निरीक्षण गर्न परासी पुगेका मन्त्री त्रिपाठीले शुक्रबार पत्रकारसँग भने। पत्रकारले खोप खरिद प्रक्रिया कहिले सुरु हुन्छ भनी मन्त्रीसमक्ष जिज्ञासा राखेका थिए।

मन्त्री त्रिपाठीले खोप व्यावसायिक, प्रशासनिक र कूटनीतिक ढंगले कसैले कसैलाई नदिने बताए। त्यसका लागि राजनीतिक प्रयत्न चाहिने र सरकार त्यसमा लागिपरेको उनको भनाइ थियो।

उनले दोस्रो चरणको अभियानमा ५५ वर्षदेखि माथिको उमेरसमूहका व्यक्तिलाई खोप लगाइने जानकारी दिए। उनका अनुसार कोरोना भाइरसबाट सबैभन्दा बढी यही उमेरसमूह प्रभावित देखिएको छ। त्यसपछि क्रमशः अरू उमेरसमूहमा लगाइने उनले बताए।

यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्