तामाङ चिकित्सक समाज नेपालको पहिलो सार्वजनिक कार्यक्रम



काठमाडौं माघ १८ । तामाङ समुदायबाट चिकित्सा क्षेत्रमा क्रियाशील चिकित्सकहरुको संस्था तामाङ चिकित्सक समाज नेपालले तामाङ अग्रज तथा बुद्धिजीवीहरुसँग परिचयात्मक तथा ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

केही समय अगाडिमात्रै गठन भई घोषणा भएको समाजले नेपाल तामाङ घेदुङको सहकार्यमा पहिलो सार्वजनिक कार्यक्रम गरेको हो । तामाङ घेदुङको संघीय कार्यालय काठमाडौंको सभाहलमा शनिबार सम्पन्न कार्यक्रममा तामाङ समुदायबाट विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने अग्रजहरुसँगै तामाङ घेदुङका पदाधिकारीहरुको उपस्थिति थियो ।

चिकित्सा क्षेत्रमा तामाङ समुदायको संलग्नता अत्यन्तै कमजोर रहेको र भएर पनि अगाडि आउन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै नयाँ पिढीलाई यस क्षेत्रमा लाग्न प्रोत्साहन गर्ने र क्रियाशील चिकित्सकहरुको समस्यामा सहकार्य गरी हौसला प्रदान गर्ने उद्देश्य उक्त समाजको रहेको आयोजकले बताए । कमजोर आर्थिक अवस्था भएका चिकित्साका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने, विपन्न र पिछडिएका क्षेत्रमा स्वास्थ्य शिविर संचालन गर्ने समाजको उद्देश्य छ ।

कार्यक्रमका प्रमुख अतिथि बौद्ध दर्शन गुरु खेन्पो सोनाम ग्युर्मीले समाजको उद्देश्य पवित्र रहेको भन्दै आफूले सक्ने सहयोग गर्ने बताए । उनले आफू अध्यक्ष रहेको धर्म टेलिभिजनबाट स्वास्थ्यसम्बन्धी कार्यक्रम चलाउन सके आधा घण्टाको समय उपलब्ध गराउने पनि वचन दिए ।

कार्यक्रममा जापानका लागि पूर्वराजदूत डा. गणेश योञ्जन, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, प्रा डा. मुक्तसिं थोकर, भाषाविद् अमृत योञ्जन, भाषा आयोग सदस्य लोकबहादुर लोप्चन, तामाङ अन्तर्राष्ट्रिय परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, आइ.सि.आर.सी अध्यक्ष खोजराज गोले लगायतले तामाङ चिकित्सक समाज महत्व, उद्देश्यबारे सुझावसहित समाजको कार्यसफलताको शुभकामना दिएका थिए ।

वक्ताहरुले तामाङ मौलिक चिकित्सकीय पद्धति र प्रविधिलाई स्थापित गर्नु पर्ने, आफ्नो सामाजिक र सामुदायिक धरातल बिर्सन नहुने भन्दै दबिएका मानसिकताबाट माथि उठाउन प्रयास हुनु पर्ने सुझाएका थिए ।

कार्यक्रम समाजका अध्यक्ष डा. दिलबहादुर थोकरको अध्यक्षता र डा. बुद्धि तामाङको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्