गुल्मीमा शनिवार रातिदेखि एक साता निषेधाज्ञा



गुल्मी,वैशाख १७ । जिल्लामा शनिवार रातिदेखि एकसाताका लागि निषेधाज्ञा गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) गुल्मीले बैशाख १८ गते शनिवार राती १२ बजेदेखी बैशाख २५ बजेसम्मको लागि एक हप्ताका लागि निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लालाई निषेधाज्ञा गरिएको हो । यो अबधीमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध , तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा पनर्माण सामाग्रीका पसलहरु विहान ७ देखि ९ बजेसम्म, बैंक तथा होटल दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने भएको जिल्ला प्रशानसन कार्यालय गुल्मी प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।
निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ ।

निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् । निषेधाज्ञा उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने जुनसुकै उपर पचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ ।
स्वास्थ सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकलबाटबाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायहरुबाट प्रदान गरिने सवै प्रकारका सेवाहरु बन्द गरिने भएको छ । अत्यावश्यक उपभोग्य तथा खाद्यवस्तुको आपूर्तीको व्यवस्था गुल्मी उद्योग वाणिज्य संघ तथा च्याम्बर्स अफ कमर्सले मिलाउने भएको छ ।

त्यस्तै औषधी तथा अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तीमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, लुकाउने, सहज आपूर्तीमा अवरोध गर्ने उपर कारवाही गरिने भएको छ । गुल्मी अस्पतालमा आइसोलेसन बेड विस्तार गर्न पूर्वाधार संरचनाको कमी भएकोले तुरुन्तै तयार गर्न सकिने प्रि–फ्याब संरचनाको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशमा अनुरोध निर्णय भएको छ ।

आयोजनामा काम गर्ने कामदारलाई कार्यस्थलमै रहने व्यवस्था मिलाई विकास निर्माणका आयोजना सुचारु गर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निर्णय गरेको छ । विवाह प्रयोजनको लागि शुभ विवाह लेखिएको ब्यानर सहित बढीमा २ वटा गाडीमा १५ जनासम्मलाई नजिकको प्रहरी चौकीबाट सहजीकरण गर्ने भएको छ ।

सोही अनुसारको निर्णय कार्यान्वयन गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी वलका अतिरिक्त आवश्यकतानुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा २ बमोजिम नेपाली सेनाको समेत सहयोग लिने निर्णय गरिएको छ ।

जिल्लामा कोभिडको दोस्रो लहरबाट २०६ जना संक्रमित भएका छन् । संक्रमित मध्ये १९९ जना होम आइसोलेसनमा रहेका छन् ।

कोरोना संक्रमित १ जनाको अस्पतालमा उपचार भइरहेको छ । कोरोनाको दोस्रो लहरबाट हालसम्म ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी बताइन् ।

प्रतिक्रिया दिनुहोस्