जनकपुरमा सहकारी कर्मचारीबाट ८० लाख लुटियो



ढल्केबर,बैशाख २४ । जनकपुरमा दिनदहाडै बन्दुक देखाएर सहकारी कर्मचारीको ८० लाख रुपियाँ लुटिएको छ । सोमबार करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–१९, थुम्होनाबाट धनुषाको रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्रकुमार महतो र रेखाकुमारी महतोसँग भएको ८० लाख रुपियाँ लुटिएको हो ।

सहकारी कर्मचारी महतोले जनकपुरस्थित हिमालयन बैङ्कबाट रकम झिकेर दुवै जना मोटरसाइक चढेर रघुनाथपुरतर्फ गइरहेको अवस्थामा पछि गर्दै मोटरसाइकलमा आएका तीन जनाको हतियारधारीले बन्दुक देखाएर आफूसँग भएको सो रकम लुटेर फरार भएको बताए । लुटेरा समूहले बन्दुक देखाएर कुटपिट गर्दै आफूसँग ब्याममा भएको रकम लुटेर लगेको जानकारी दिए ।

उनका अनुसार लुटेराहरुले प्रयोग गरेको मोटरसाइकल ब्लु कलरको अपाचे रहेको छ । मोटरसाइकलको नम्बर प्लेटबाट अगाडिको नम्बर मेटिएको भएपनि अन्तिमको ५३ नम्बर मात्र देखिएको सहकारी कर्मचारी महतोको भनाइ छ । जिल्ला प्रहरी कार्यालय धनुषाले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्