सिन्धुपाल्चोकमा भौतिक उपस्थितिमै पठनपाठन



सिन्धुपाल्चोक, भदौ १२ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि बन्द रहेका सिन्धुपाल्चोकका अधिंकाश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ ।

सिन्धुपाल्चोकका १२ स्थानीय सरकारमध्ये सुनकोसी र भोटेकोसी गाउँपालिकाबाहेक अन्य सबै स्थानी सरकारअन्तर्गत रहेका सामुदायिक र निजी विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको हो ।

कोरोना कहरसँगै बाढी पहिरोको चपेटामा परेको मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिकामा समेत केही दिनदेखि शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा नियमित पठनपाठन सुरु गरिएको छ । डीसीसीएमसीले पठनपाठन सुरु गर्न औपचारिक रूपमा निर्णय नगरे पनि गाउँपालिकाले आफ्नो क्षेत्रमा पठनपाठन सुरु गरेका हुन् ।

लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीमा समस्या भएको भन्दै कतिपय गाउँपालिका र नगरपालिकाले विद्यालय सञ्चालन गर्न नभने पनि विद्यालय आफंैले विद्यार्थी बोलाएर पठनपाठन सुरु गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाअन्तर्गतका सबै विद्यालयमा दुई सातादेखि नै भौतिक उपस्थितिमा पठनपाठन सुरु गरिएको नगरपालिकाका शिक्षा शाखाका अमित घिमिरेले बताए ।

‘हामीले औपचारिक रूपमा विद्यालय सञ्चालन गर्नु भनेको त छैन तर सबै विद्यालयले आफैंले निर्णय गरेर पढाउन थाल्नुभएको छ,’ नगरपालिकाका शिक्षा शाखाका घिमिरेले भने ।

सदरमुकाम चौतारामा रहेको कृष्णरत्न गंगा माविलगायत नगरभित्रका प्रायः सबै विद्यालय अहिले सञ्चालनमा छन् ।

बढीपहिरोबाट ठूलो भौतिक क्षति बेहोरेको मेलम्ची नगरपालिकाको शिक्षा शाखाले पनि १७ साउनदेखि शिक्षक अनिवार्य विद्यालयमा उपस्थिति हुन भनेको थियो । अहिले नगरभित्रका सबै विद्यालय आंशिक रूपमा सञ्चालन भएको शिक्षक रमेश चापागाईले जानकारी दिए ।

बाढी पहिरोको समस्यामा रहेको र अधिकांश विद्यालय आउने सडक बिग्रे पनि हेलम्बु गाउँपालिकामा पनि भौतिक उपस्थितमा नै बुधबारदेखि पठनपाठन सुरु गरिएको छ।

यो समाचार राजधानी दैनिकमा दिनेश थापाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्