छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढायो चहलपहल



महोत्तरी,कात्तिक २७ । दीपावली पर्व सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ। चार दिनसम्म मनाइने आस्था, निष्ठा र भक्तिको पर्व छठका लागि स्थानीयवासी तयारीमा जुटेका छन्।

छठको आगमनसँगै मिथिलाका घरघरमा सूर्यदेव र षष्ठीदेवीको महिमा गाइने भक्तिगीत गुञ्जिन थालेका छन्। नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण र सरसफाइ भइरहेको छ। विशेषगरी युवा छठघाटको सजावट तथा व्यवस्थापनमा सक्रिय देखिएका छन्। घरका भित्ता लिपपोत गर्ने, रङरोगन गर्ने तथा सडक र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गर्ने काम पनि भइरहेको छ।

पर्वको तयारीसँगै स्थानीयवासीको दैनिकी छठमय बनेको बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताउनुभयो।

छठका लागि आवश्यक पूजासामग्री किनमेल गर्न मिथिला क्षेत्रका बजारमा भीड बढेको छ। केराका घरी, उखु, अदुवा, बेसारका बोट, ज्यामिरलगायत सामग्रीको माग बढेको छ। स्थानीय किसानले पनि पूजामा प्रयोग हुने सामग्री बजारमा बिक्रीका लागि ल्याउने तयारी गरेका छन्। यस्ता सामग्रीको मुख्य कारोबार शनिबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताउनुभयो।

त्यस्तै, बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री बढेको छ। दियो, छ्याँची, टौला, अङ्खरा र गाग्रीलगायत माटाका भाँडाको माग पनि बढेको छ। छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण यस्ता सामग्रीको व्यापार बढेको हो।

घरघरमा छठको प्रसाद ठकुवा र भुसुवा बनाउने चटारोसमेत बढेको छ। चामल र गहुँको पिठो घरमै ढिकी र जाँतोमा तयार गर्ने परम्परा अझै कायम छ। शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने भएकाले परिवारका सदस्य मिलेर प्रसाद तयार गर्ने चलन छ। भङ्गाहा–४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहले छठ पर्वमा निष्ठा र पवित्रता सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको बताउनुभयो।

मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ। पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि पर्व सम्पन्न हुन्छ।

छठ पर्व धार्मिक आस्थासँगै सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि स्थापित छ। यस पर्वमा पुराना मनमुटाव बिर्सेर सबै समुदायका मानिस एकै ठाउँमा भेला भई सूर्यदेवको उपासना गर्छन्। छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले समान रूपमा सहभागी हुने परम्पराले सामाजिक एकता र सहकार्यको सन्देश दिने गरेको छ। सूर्यदेव र षष्ठीदेवीको आराधनाले सुख, शान्ति र कल्याण प्राप्त हुने जनविश्वास छ।

प्रतिक्रिया दिनुहोस्