अनुमति पाएलगत्तै कक्षा १२ को परीक्षा



काठमाडौंं, भदौ १५ । परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणकै बीचमा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियमित रूपमा सञ्चालन भए पनि कक्षा १२ को स्थगित परीक्षाको अन्योल अझै हट्न नसकेको बेला यस्तो धारणा आएको हो । बोर्डका कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट अनुमति पाएलगत्तै परीक्षा लिन तयारी अवस्थामा रहेको जानकारी दिए ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीले पूर्ण रूपमा खोप लगाउन पाएको अवस्थामा परीक्षा निर्वाध रूपमा सञ्चालन हुन सक्ने विश्वास आफूहरूमा रहेको उनको भनाइ छ । परीक्षाको अनुमति पाएपछि १५ दिनको सूचना दिएर परीक्षाको कार्यतालिका निकाल्ने योजना बोर्डले बनाएको छ ।

यस वर्ष कक्षा १२ को परीक्षा दुईपटक स्थगित भइसकेको छ । साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने भनिए पनि अन्तिम समयमा आएर रोकिएको थियो । यसअघि वैशाख २६ गतेबाट सञ्चालन गर्नेगरी प्रकाशित गरिएको परीक्षाको कार्यतालिका पनि रोकिएको थियो ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्