चितवनको घरजग्गा कारोबार ४०% ले बढ्यो, ६ मिटर बाटोमा १० लाख रुपैयाँमै घडेरी



७५ बीघामा गरिएको प्लटिङमा ३ हजारभन्दा धेरै घडेरी विक्रीमा

काठमाडौं,पुस्तक ३ । नेकपा (एमाले) को हालै सम्पन्न १० औं महाधिवेशनका कारण चितवनको घरजग्गा कारोबार ४० प्रतिशतले बढेको छ। 

मंसिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न महाधिवेशनमा देशभरबाट लाखौ नेता तथ कार्यकर्ता चितवन पुगेका थिए।

महाधिवेशनमा आएका प्रतिनिधिदेखि कार्यकर्तासम्मले त्यतिबेलै चितवनका विभिन्न ठाउँमा घरघडेरी हेरेर गएका थिए। गोजिमा नगद पैसा हुने नेता कार्यकर्ताले कसैले बैना मात्रै दिएर त कसैले पुरै रकम दिएर तत्कालै घरजग्गा किनेका कारण चितवनको कारोबार बढेको घरजग्गा व्यावसयि दीनेशकुमार चुकेले बताए।

मंसिर महीनामा चितवनका चार ओटै मालपोत कार्यालयबाट २ हजार ८०० ओटा घरजग्गा किनबेच भएका छन्। अघिल्लो महिना कात्तिकमा भने जिल्लाभर २ हजार ओटा घरजग्गा मात्रै किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बताएको छ।

त्यस्तै मंसिरमा जिल्लाभर २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। कात्तिकमा भने जिल्लाभर जम्मा २३ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो। कारोबार संख्या ४० प्रतिशतले र राजस्व रकम २२ प्रतिशतले बढेको विभागले बताएको छ।

‘अहिले किनबेच भएका घरजग्गाहरु सानो सानो रकमका हुन्। चितवनमा अहिलेपनि १० देखि १५ लाख रुपैयाँमा १० धुर घडेरी किन्न सकिन्छ।’ चुकेले भने,   ‘कारोबार संख्या ४० प्रतिशतले बढेपनि राजस्व रकम भने २२ प्रतिशत मात्रै बढ्नुको कारणपनि त्यहि हो।’

७५ बिगाहमा प्लटिङ, करिब तीन हजार घडेरी विक्रीमा
चितवनमा अहिले अनुमति लिएका कम्पनी र व्यक्तिगत कारोबारी गरेर १५/२० जना व्यक्तिले घरजग्गा प्लटिङ गरेर किनबेच गर्ने गरेको व्यावसायि चुकेले बताए।

एकै व्यक्तिले एक बीघादेखि पाँच बीघासम्म जग्गामा प्लटिङ गरेका छन्। यसरि अहिले नगरपालिकाको मापदण्ड अनुसार नै कम्तिमा छ मिटर चौडा बाटोमा १० देखि १५ लाख रुपैयाँमै किन्न पाइने करीब ३ हजार बढी घडेरीहरु विक्रीमा रहेको उनले बताए।

‘चितवनमा महानगरभित्र पनि कम्तिमा २५ लाख रुपैयाँबाट घडेरी किन्न सकिने अर्का व्यावसायि किशोर थापाले बताए। मुख्य राजमार्गबाट ४/५ किलोमिटर दायाँबायाँ जाँदा २०/२५ लाखदेखि महानगरभित्रै पनि घरघडेरी किनबेच भइरहेका छन्।’ थापाले भने, ‘महानगरभित्र मुख्य बजार क्षेत्रमा भने जग्गाको मूल्य प्रतिकठ्ठा ६/७ करोड रुपैयाँ घटिमा किनबेच हुँदैन।’

चारवटै मालपोतबाट करोड बढी राजस्व संकलन
काठमाडौं उपत्यकापछि सबैभन्दा धेरै मालपोत कार्यालय रहेको चितवनमा चार ओटा मालपोत कार्यालयले सेवा दिइरहेका छन्। महानगरभित्रका घरजग्गा किनबेच हुने भरतपुर (चितवन) मालपोत कार्यालयले ५ देखि १० करोड रुपैयाँसम्म राजस्व उठाएपनि अन्य कार्यालयले भने ५०/६० लाख रुपैयाँ राजस्वमै चित्त बुझाईरहेका थिए।

तर मंसिरमा भने चार ओटै मालपोत कार्यालयले कम्तिमा १ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेका छन्।

सबैभन्दा धेरै राजस्व संकलन गर्ने चितवन मालपोत कार्यालयले मंसिरमा १९ करोड ३१ लाख रुपैयाँ राजस्व उठाउँदा  माडी मालपोतले १ करोड ३८ लाख, चनौली मालपोतले ३ करोड ८७ लाख र खैरहनी मालपोतले तीन करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेका छन्।

सबैभन्दा धेरै राजस्व संकलन गर्ने चितवन मालपोत कार्यालयले मंसिरमा १९ करोड ३१ लाख रुपैयाँ राजस्व उठाउँदा  माडी मालपोतले १ करोड ३८ लाख, चनौली मालपोतले ३ करोड ८७ लाख र खैरहनी मालपोतले तीन करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेका छन्।

कात्तिकको तथ्याङ्कमा भने चितवन मालपोतबाट १४ करोड ९० लाख, माडिबाट १ करोड १२ लाख, चनौलीबाट ३ करोड ७ लाख र खैरहनीबाट ३ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।

कारोबार संख्याको आधारमा चितवनबाट सर्वाधिक १ हजार ७०० ओटा घरजग्गा किनबेच हुँदा माडीबाट १८२ओटा, चनौलीबाट ५६६ ओटा र खैरहनीबाट ३४७ ओटा घरजग्गा किनबेच भएका छन्। यो तथ्याङ्कले महानगरभित्र पनि सस्तो मूल्यका घरजग्गा धेरै किनबेच भएको पुष्टि गरेको छ। 

कात्तिकमा भने चितवन मालपोतबाट १ हजार २७८ ओटा घरजग्गा मात्रै किनबेच भएका थिए। त्यस्तै माडीबाट १०१ ओटा, चनौलीबाट ४३६ ओटा र खैरहनीबाट २६० ओटा घरजग्गा किनबेच भएका थिए। कात्तिकको तुलनामा मंसिरमा चितवनका सबै मालपोत कार्यालयको कारोबार संख्या र राजस्व वृद्धि भएको छ। आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्