बैंकिङ कसुरको बढ्दो ग्राफ



काठमाडौं,पुस १३ । नेपालमा पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी मुद्दाको दर्ता बढ्दै गएको देखिएको छ । नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी दर्ता हुने मुद्दाको संख्या बढ्दै गएको देखाएको हो ।

प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महीना अर्थात् मङ्सिर मसान्तसम्म यस्तो मुद्दाको संख्या १०५ प्रतिशतले बढेको छ । गत आवको पहिलो ५ महीनामा बैंकिङ कसुरमा ८८० मुद्दा प्रहरीमा दर्ता भएका थिए, चालू आवको सोही अवधिमा त्योभन्दा बढी अर्थात् १ हजार ८०८ ओटा यस्तो मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

बैंकिङ कसुरसम्बन्धी मुद्दा नेपाल प्रहरीमार्फत अदालती प्रक्रियामा जाने गर्छ । यसमा सरकार आफै नै वादी (पक्ष) भएर मुद्दा लड्ने गर्छ, जुन पछिल्लो समय ह्वात्तै बढेको प्रहरीको तथ्यांकले देखाएको छ । यस्तो मुुद्दा उच्च अदालतमा फैसला हुने गर्छ ।

वार्षिक आधारमा गत आव २०७७/७८ बैंकिङ कसुरको मुद्दामा केही कमी आएको थियो । आव २०७६/७७ मा ३ हजार ३०९ ओटा यस्तो मुद्दा दर्ता हुँदा गत आव २०७७/७८ मा २ हजार ३७३ ओटा मुद्दा दर्ता भएको देखिन्छ । तर, चालू आवदेखि बैंकिङ कसुरको मुद्दा पुनः बढ्न थालेको प्रहरीको तथ्यांकले देखाएको छ ।

गत आवमा कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण बैंकिङ कसुरसम्बन्धी मुद्दामा केही कमी आएको थियो । तर, अहिले परिस्थीति सामान्य हुँदै गएपछि यस्तो मुद्दाको संख्या झन् बढ्दै गएको देखिएको छ ।

चालू आवको पहिलो ५ महीनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, हातहतियार खरखजानाजस्ता मुद्दाको संख्या घटेको छ । यस्तै, लागू औषध, अपहरण, गठी तथा चोरी जस्ता मुद्दाको वृद्धिदर ५० प्रतिशतभन्दा तल छ । तर, बैंकिङ कसुरसम्बन्धी मुद्दाको वृद्धिदर शतप्रतिशतभन्दा बढी रहेको प्रहरीको तथ्यांकले पुष्टि गरेको छ ।

संख्याको आधारमा अन्य मुद्दा नै बढी भए पनि वृद्धिदरका आधारमा बैंकिङ कसुरको मुद्दा बढी देखिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी मुद्दाको संख्या बढ्दै गएको बताए । यसको दायरा बढी हुँदा मुद्दाको संख्या पनि बढेको उनको भनाइ छ । ‘बैंकसँग जोडिएर हुने कसुर भएकाले यसमा उच्च ओहोदाका व्यक्तिदेखि सामान्य व्यक्ति पनि पर्छन् । यसमा दायरा बढी हुने हुँदा मुद्दा पनि बढ्दै गएको छ,’ उनले भने, ‘कारोबार चेकमार्फत हुने तर चेक नसाटिने भएपछि प्रहरीमा मुद्दा पर्छ ।’ यसमा चेक बाउन्स घटना बढी हुने गरेको उनको भनाइ छ ।

उनका अनुसार बैंंकिङ कसुरसम्बन्धी मुद्दामा ठूलाठूला व्यावसायिक संस्था पनि मुछिएका छन् । ‘बैंकिङ कारोबार गर्ने व्यक्ति तथा संस्थाहरू यसमा मुछिका छन् । साथै, सर्वसाधारण पनि यस्तो मुद्दामा मुछिएका छन्,’ उनले भने । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्