आयात प्रतिबन्धको असर राजस्वमा : लक्ष्यको ७४ प्रतिशत मात्रै भन्सारबाट राजस्व संकलन



काठमाडौं,असोज १३ । सरकारले केही वस्तुको आयातमा लगाएको प्रतिबन्धको प्रत्यक्ष असर राजस्व संकलनमा देखिएको छ । बढी राजस्व प्राप्त हुने वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो २ महीनाको राजस्व संकलन कमजोर देखिएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले राजस्व लक्ष्य गत आवको तुलनामा यो वर्ष १ खर्ब ९० अर्ब रुपैयाँले वृद्धि गरेका थिए । गत आवमा १० खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । चालू आवमा १२ खर्ब ४० अर्ब रुपैयाँ संलकन गर्ने लक्ष्य बजेटले राखे पनि त्यसअनुसार राजस्व नउठ्दा राजस्वका अधिकारीहरू चिन्तामा छन् । 

अर्थ मन्त्रालय, राजस्व महाशाखाका एक उच्च अधिकारीका अनुसार यी २ महीनामा लक्ष्यभन्दा कम राजस्व उठेको छ । गत साउन र भदौमा आन्तरिकतर्फ ७५ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा लक्ष्यभन्दा झन्डै ८ अर्ब रुपैयाँ कम उठेको छ । यस अवधिमा ६७ अर्ब ९१ करोड रुपैयाँमात्रै आन्तरिक राजस्व संकलन भएको छ । शीर्षकगत रूपमा आयकर लक्ष्यको ७८ प्रतिशत, घर बहालकर ६१ प्रतिशत, ब्याजकर ८३ प्रतिशत संकलन भएको छ । अन्य शीर्षकमा लक्ष्यअनुसार वा त्योभन्दा बढी संकलन भएको छ । समग्रमा आन्तरिक राजस्व लक्ष्यको ९० प्रतिशत मात्रै संकलन भएको छ । 

भन्सारतर्फको राजस्व लक्ष्यको ७४ प्रतिशत मात्रै पुगेको छ । आन्तरिक र भन्सारतर्फको राजस्व गरी सरकारले १ खर्ब ३० अर्ब रुपैयाँ संकलन गरेको छ । सरकारले बढी राजस्व प्राप्त हुने वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर राजस्व संकलनमा परेको हो । सरकारले गत वैशाखमा विलासी वर्गका विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगायो । ती १० मध्ये ६ वस्तुको आयात प्रतिबन्ध भदौ दोस्रो साता हटाए पनि कार जीप भ्यान, तयारी मदिरा, ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन र १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकलको आयातमा प्रतिबन्ध अझै कायम छ । आयात नियन्त्रण गर्ने सरकारी नीतिकै कारण भन्सारबाट संकलन हुने राजस्व सन्तोषजनक हुन नसकेको बताइन्छ । 

भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्का पछिल्लो समय भन्सारतर्फको राजस्व संकलन घटिरहेको बताउँछन् । उनका अनुसार राजस्व घट्नुमा आयातमा लगाइएको प्रतिबन्ध एउटा कारण हो भने भारतीय बजारमा इन्धनको भाउ घट्नु अर्को । ‘भारतमा इन्धन महँगो हुँदा सीमावर्ती क्षेत्रका भारतीयले नेपाल आएर इन्धन भर्थे, अहिले त्यो कम भएको छ । त्यसले स्वदेशमा इन्धन खपत घट्दा राजस्वमा समेत असर परेको हाम्रो अनुमान छ,’ निर्देशक खड्काले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयअघि नै सरकारको आम्दानी घटिरहेको संकेत गर्नुभएको थियो । उहाँले कर्मचारी पाल्न पनि सकस परिरहेको बताउनुभएको थियो । प्रधानमन्त्री देउवाले कर्मचारीलाई तलब खुवाउन पनि विदेशीसँग पैसा माग्नुपर्ने अवस्था आएको अभिव्यक्ति दिनुभएको थियो । 

आयातमा थप कडाइ गर्ने संकेत
सरकारको आम्दानी घट्नुमा आयात प्रतिबन्ध प्रमुख कारण भए पनि अर्थ मन्त्रालय त्यसलाई खुकुलो गर्ने पक्षमा देखिँदैन । आयात खुकुलो गर्नुको साटो एकपछि अर्को गर्दै प्रतिबन्धलाई कडाइ गर्ने सरकारको नीति देखिन्छ । 

आयातमा अझै कडाइ गर्ने अर्थमन्त्री जनार्दन शर्माले संकेत गरिसकेका छन् । उनका अनुसार इन्धनबाट चल्ने सवारीसाधनको आयात रोक्ने तयारीमा
सरकार छ । 

कसरी रोक्ने भन्ने विषयमा अध्ययन गर्न राजस्व सचिवको नेतृत्वमा समिति गठन भइसकेको र समितिको प्रतिवेदनपछि त्यस्ता सवारीसाधन आयातमा निश्चित समय तोकेर कडाइ गर्ने सरकारको तयारी छ । यसले पनि भन्सार बिन्दुबाट उठ्ने राजस्वमा असर पार्ने देखिन्छ । 

त्यसो त, आयातमा आधारित राजस्व प्रणाली ठीक नभएको भन्दै राजस्व परामर्श समितिले भन्सारमा आधारित राजस्व प्रणालीलाई पुन: संरचना गर्न सरकारलाई भनिसकेको छ । तर, सरकारले अझै यस विषयमा ठोस निर्णय लिन सकेको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्