नेपाल र तिब्बतमा आलोपालो हुने आर्थिक तथा व्यापार मेला यसपटक नेपालमा, आगामी सोमवारदेखि भृकुटीमण्डपमा चल्ने



काठमाडौं,बैशाख १४ । १७ औं नेपाल चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला यही वैशाख १७ (आगामी सोमवार)देखि भृकुटीमण्डपमा आयोजना हुने भएको छ । 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले बिहीवार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । केन्द्रका अनुसार मेला यही वैशाख २१ सम्म चल्नेछ ।  

नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागबीच सन् १९९० मा गरिएको सम्झौताअनुसार मेला आयोजना गरिन लागिएको हो । उक्त सम्झौतामा नेपाल र तिब्बतमा दुई–दुई वर्षमा आलोपालो हुने गरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने उल्लेख छ । 

यसपटक नेपालमा मेला आयोजना गर्ने गरी तयारी गरिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणाले बताए ।

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्ध विस्तार गर्ने मेलाको प्रमुख उद्देश्य रहेको बताइएको छ । 

मेलामा तिब्बत सरकारका उपाध्यक्ष लाङ फुकुनको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलसहित करीब १२० जना व्यापारी प्रतिनिधि सहभागी हुनेछन् । 

मेलामा तिब्बतको तर्फबाट ५० स्टल रहने बताइएको छ, जसमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरण, घरायशी प्रयोगका साधन, कार्पेट, पेय पदार्थ, परम्परागत हस्तकलाका सामान, परम्परागत धुप, द्विपांग्रे, तीन पांग्रे र चार पांग्रे विद्युतीय सवारी साधन, सौन्दर्य प्रशाधनलगायतका स्टल रहनेछन् । 

मेलामा नेपालको तर्फबाट १५ ओटा स्टल रहने छन्, जसमा जडीबुटी, सारयुक्त सुगन्धित तेल, कफी, चिया, हस्तकला/काष्ठकला, धातुकला, कार्पेट, पश्मिनालगायतका उत्पादन प्रदर्शन गरिनेछन् । 

मेलाको अवसरमा दुई पक्षबीच बीटूबी, बीटूजी र जीटूजी लगायतका व्यावसायिक मिटिङ आयोजना हुने छन् । मेला बिहान १० देखि बेलुका ६ बजेसम्म चल्नेछ । मेलामा प्रवेश निःशुल्क गरिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्