४० मेगावाटको माथिल्लो चमेलियाको निर्माण अन्तिम चरणमा, वैशाखभित्रै विद्युत उत्पादन हुने



काठमाडौं,पुस २९ । अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आफ्नो छैटौं आयोजनाको रूपमा रहेको ४० मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जानकारी दिएको छ । 

आगामी वैशाखभित्र आयोजनाको निर्माण कार्य सम्पन्न गरी व्यापारिक उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेले जानकारी दिए । उनका अनुसार हाल आयोजनाको विद्युत् गृह, सर्ज टंयाक, सबस्टेशनको निर्माण कार्य शत प्रतिशत सम्पन्न भइसकेको छ भने एलान्मेण्टतर्फ ८०० मिटर पाइप जडान र बाँधस्थलको अन्तिम सिभिल कार्य चलिरहेको छ । 

शेयरधनीहरूलाई निरन्तर रूपमा लाभांश वितरण गर्दै आएको कम्पनीले छैटौं आयोजनाबाट व्यापारिक उत्पादन शुरू गरेपछि अझ आकर्षक लाभांश दिन सक्ने क्षमतामा पुग्ने अपेक्षा न्यौपानेको छ । दार्चुला जिल्लामा बग्ने चमेलिया नदीको पानी उपयोग गरी अपिले ४० मेगावाट क्षमताको यो आयोजना निर्माण गरिरहेको छ । 

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको चमेलिया जलविद्युत् आयोजनाको बलाँच सबस्टेशनमा १३२ केभी टावरहरूबाट जडान गरिने न्यौपानेको भनाइ छ । यस आयोजना निर्माणका लागि थप पूँजी जुटाउन कम्पनीले हकप्रद शेयर निष्कासन गरेको थियो । पाँच वर्षको लाभांश वितरणको इतिहासलाई हेर्दा अपिले ११ दशमलव शून्य ५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । 

आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट अपिले हालसम्मकै उच्च लाभांश वितरण गरेको हो । गत वर्षको मुनाफाबाट भने अपिले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य ३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । पुस २१ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले विद्युत् नियमन आयोगको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि वितरण गर्ने गरी उक्त लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले यसअघि दार्चुला जिल्लामा ८ दशमलव ५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत् आयोजना र ८ मेगावाट क्षमताको माथिल्लो नौगड गाढ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा विद्युत् प्रवाह गरिरहेको छ । 

कम्पनीले मिश्रित ऊर्जा नीतिलाई आत्मसात् गर्दै ४ मेगावाट क्षमताको चन्दनिगापुर सौर्य आयोजना, १ मेगावाट क्षमताको ढल्केवर सौर्य आयोजना र १ मेगावाट क्षमताको सिमरा सौर्य आयोजनाको निर्माण सम्पन्न गरी यी सबै आयोजनाहरूसमेत राष्ट्रिय प्रशारण लाइनमा प्रवाह गरिरहेको छ । दुईओटा जलविद्युत् आयोजनाहरू र तीनओटा सौर्य आयोजनाहरू सञ्चालन गरिरहेको यो कम्पनी नेपालकोे एक ठूलो ऊर्जा कम्पनीको रूपमा परिचित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्