३१ जनालाई सगरमाथा चढ्ने अनुमति



काठमाडौं,चैत १६ । सन् २०२३ को स्प्रिङ सिजन (बसन्त ऋतु)मा पर्वतारोहण खुला गरिएसँगै सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या बढेको छ । पर्यटन विभागका अनुसार मंगलवारसम्म सगरमाथा आरोहण गर्न ३१ जनाले अनुमति लिएका छन् । विभागले यो सिजन शुरू भएसँगै अनुमति दिन थालिसकेको छ ।

खासगरी सगरमाथा आरोहणका लागि यो सिजन प्रसिद्ध भए पनि अन्य हिमाल तथा हिमचुचुरा आरोहणका लागि पनि पर्वतारोहीले अनुमति लिने गरेका छन् । विभागका अनुसार यो सिजनको शुरुआती चरणमै सगरमाथासहित १० ओटा हिमाल तथा चुचुरा आरोहण गर्न १४२ पर्वतारोहीले अनुमति लिएका छन् ।

यो अवधिमा सबैभन्दा धेरैले अन्नपूर्ण आरोहणका लागि अनुमति पाएका छन् । अन्नपूर्ण आरोहणका लागि ५४ जनाले अनुमति लिएका छन् । विभागले सुमा–सरोवर नर्थ, अन्नपूर्ण, सगरमाथा, मनास्लु, थोरोङ पीक, बरूण, लोत्से, नुप्त्सेलगायत १० ओटा हिमाल तथा पीक आरोहणका लागि अनुमति जारी गरेको छ । विभागले यी हिमाल तथा पीकका लागि अनुमति जारी गरी हालसम्म ४ करोड ९५ लाख रूपैयाँ राजस्व संकलन गरेको छ । विभागले जारी गरेको सूचनाअनुसार सगरमाथा आरोहणका लागि अस्ट्रेलिया, चीन, जर्मनी, हंगेरी, नेपाल, सिंगापुर, साउथ अफ्रिका, थाइल्यान्ड र अमेरिकाका पर्वतारोहीले अनुमति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्