पदयात्री सूचना व्यवस्थापन प्रणालीले पर्यटनलाई थप सुरक्षित बनाउने विश्वास



काठमाडौं,चैत १९ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को नयाँ मापदण्डले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएको छ ।

टानका अध्यक्ष नीलहरि बाँस्तोलाले शनिवार आज एक विज्ञप्ति जारी गरी भर्खरै सरकारले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड-२०७९ ल्याएको र उक्त मापदण्डले नेपालको पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएका हुन् ।

‘नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको बैठकले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड-२०७९ जारी गरिएकामा टान नेपाल पर्यटन बोर्डको सो निणर्यको स्वागत गर्दछ,’ अध्यक्ष बाँस्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले विश्व पर्यटन बजारमा नेपाललाई सुरक्षित गन्तव्यका रूपमा चिनाउने यस क्षेत्रलाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउने, पर्वतीय पर्यटन क्षेत्रमा संलग्न उद्यमी तथा व्यवसायीको आत्मविश्वास बढाई थप लगानी गर्न आकर्षित गर्ने र उल्लेख्य रूपमा रोजगारी वृद्धि गर्न टिम्सले सहयोग पुग्ने बताए ।

पर्वतीय पर्यटनद्वारा राज्यको कुल गार्हस्थ्य उत्पादनमा पुर्‍याउने योगदानलाई वृद्धि हुने विश्वास टानले लिएको छ । अध्यक्ष बाँस्तोलाले पर्यटनलाई सुरक्षित, मर्यादित, व्यवसायीमैत्री, रोजगारमूलक र दिगो बनाउन आवश्यक पर्ने नीतिगत सुधारका लागि टानले विगत लामो समयदेखि काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । -रासस

प्रतिक्रिया दिनुहोस्