कित्ताकाट खुलेकै महिनामा सुस्तायो घरजग्गा कारोबार: १३.६० प्रतिशतले घट्यो, राजश्व पनि खुम्चियो



काठमाडौं,जेठ १ । पछिल्लो एक महिनामा घर जग्गा कारोबार घटेको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागले प्रकाशन गरेको चालु आर्थिक वर्षको बैशाख महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत चैत मसान्तको तुलनामा बैशाख महिनामा घर जग्गा कारोबार ६ हजार ६८९ ले कमी आएको छ । गत चैत महिनामा ४९ हजार १५० वटा घर जग्गा किनबेच भएको थियो । तर, बैशाख महिनामा १३.६० प्रतिशतले घटेर ४२ हजार ४६१ वटा मात्रै घर जग्गा कारोबार भएको छ ।

सहज रुपमा जग्गा कित्ताकाट हुन नसक्दा नै कारोबारमा कमी आएको बताइएको छ । सरकारले गत वैशाख ५ गते नै जग्गाको कित्ताकाट खुला बनाउने निर्णय गरेको थियो ।मन्त्रिपरिषद् बैठकले नै भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली–०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुला गरेको हो । तर, सो निर्णय सहज रुपमा कार्यान्वयन हुन् नसक्दा कारोबार बढ्न सकिरहेको छैन ।

यता, व्यवसायीहरुले सरकारले कित्ताकाट सहज बनाउन गरेको निर्णयपछि घर जग्गा कारोबार बढ्ने आशा थिए । तर, सहज रुपमा सो निर्णय कार्यान्वयन नहुँदा कारोबार सुस्ताएको छ । यता, नेपाल राष्ट्र बैंकले पनि घर जग्गा कारोबारमा लचिलो नबेपछि व्यवसायीहरु निराश बनेका छन् । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदै गएको छ । तर, घर जग्गा क्षेत्रको कर्जामा राष्ट्र बैंकले कडाई गरेको छ, जसले कारोबारमा गति लिन सकिरहेको अवस्था छैन ।

वैशाख महिनामा ३ हजार ३७८ वटा घरजग्गा नामसारी भएको विभागले जनाएको छ । विभागको तथ्याङ्क अनुसार ५ हजार १२० वटा घर जग्गा संशोधन भएको छ । यस्तै, ३० हजार ५७२ वटा रोक्का र २३ हजार ६४२ वटा फुकुवा भएका छन् । वैशाखमा ३० वटा अपार्टमेन्ट बिक्री भएको विभागको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार सबैभन्दा धेरै घरजग्गा मालपोत कार्यालय इनरुवाबाट भएको छ । सो कार्यालय मार्फत १ हजार ६५६ वटा घरजग्गा किनबेच भएको हो । दोस्रो स्थानमा रहेको बेलबारी मालपोत कार्यालय, मोरङ छ । सो कार्यालयबाट पनि १ हजार ६५४ वटा घर जग्गा खरिदबिक्री भएको विभागले जनाएको छ ।

यस्तै, जनकपुरधाम धनुषाबाट १ हजार ५२१ वटा, नेपालगञ्ज बाँकेबाट १ हजार ५२, दमक झापाबाट १ हजार २०२ र भद्रपुर झापाबाट १ हजार १३८, धनगढी कैलालीबाट १ हजार १०१ वटा घरजग्गा किनबेच भएको छ ।

त्यसैगरि तौलिहवा कपिलवस्तु कार्यालयबाट १ हजार १०५, राजविराज सप्तरीबाट १ हजार ११०, पर्साबाट १ हजार ४५, जलेश्वर महोत्तरीबाट १ हजार २४, कलैया बाराबाट १ हजार १८ वटा घर जग्गा किनबेच भएको छ ।

१ हजारले घट्यो काठमाडौं उपत्यकामा घर जग्गा कारोबार

काठमाडौं उपत्यकामा पनि घर जग्गा कारोबार सुस्ताएको छ । पछिल्लो एक महिनाकै अवधिमा घर जग्गा कारोबार १ हजारले घटेको छ ।

विभागको तथ्याङ्क अनुसार गत चैतमा ४ हजार ६१८ वटा घरजग्गा काठमाडौं उपत्यकामा खरिदबिक्री भएका थियो । तर, वैशाखमा महिनामा घने ३ हजार ६८३ वटा मात्रै घरजग्गा किनबेच भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूउपयोग नियमावली,२०७९ जारी गरेको थियो । सो नियमावलीअनुसार काठमाडौं उपत्यका लगायतका क्षेत्रमा जग्गाको कित्ताकाटमा कडाई भएको थियो । नियमावलीअनुसार स्थानीय तहले जग्गाको वर्गिकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाउने व्यवस्था गरेको थियो । सोही व्यवस्था लागू भएसंगै सहज रुपमा जग्गाको कित्ताकाट हुन सकेको छैन । जग्गाको सहज रुपमा कित्ताकाट हुन नसक्दा कारोबार सुस्ताएको तथ्याङ्कले देखाएको छ ।

बैशाख महिनामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ललितपुरको लगनखेल मालपोत मालपोतबाट ८८१ वटा घरजग्गा कारोबार भएको छ । तर, गत चैतमा भने सो कार्यालय मार्फत १ हजार १४४ वटा घरजग्गा खरिदबिक्री भएको थियो ।

दोस्रो स्थानमा रहेको मालपोत कार्यालय भक्तपुरबाट भने ८८१ वटा घरजग्गा किनबेच भएको छ । यस्तै, मालपोत कार्यालय कलंकीबाट ५८०, चावहिलबाट ९४, साँखुबाट ३८३, मनमैजुबाट २२९, डिल्लीबजारबाट १८१, टोखा कार्यालयबाट १५४ र गोटीखेलबाट १५ वटा घरजग्गा किनबेच भएको छ ।

कारोबार घट्दा राजश्व प्रभावित

घरजग्गा कारोबारमा गिरावट आएसंगै राजश्व पनि प्रभावित बनेको छ । विभागका अनुसार बैशाखमा महिनामा घर जग्गा कारोबारबाट ३ अर्ब ६८ करोड ६० लाख ९२ हजार रुपैयाँ राजश्व संकलन भएको छ । तर, गत चैत महिनाको तुलनामा भने ८२ करोड ६६ लाख रुपैयाँले कमी हो । चैतमा घर जग्गा कारोबार मार्फत उठ्ने राजश्व ४ अर्ब ५१ करोड २६ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

विभागकाअनुसार बैशाखमा सेवा कर मार्फत २२ करोड ३६ लाख रुपैयाँ संकलन भएको छ । यस्तै, बागमती बापत ८ करोड ६० लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरवापत १ अर्ब ९७ करोड ९२ लाख रुपैयाँ र पुँजीगत लाभकर बापत १ अर्ब ७ करोड १३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । वैशाखमा २९ करोड १६ लाख रुपैयाँ छुट दिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्