नुवाकोटको छहरेमा यसरी मनाइयो परम्परागत सांस्कृतिक गाईजात्रा
नुवाकोट,भदौ १४ । जिल्लाको छहरे बजारमा परम्परागत सांस्कृतिक गाईजात्रा मनाइएको छ । लिखु गाउँपालिका वडा नम्बर ६ छहरे बजारमा थानपति, लिखुको भट्टथोक लगायतको क्षेत्रका नेवार समुदायद्वारा गाईजात्रा निकालिएको हो ।
फरक फरक नाममा नेवार समुदायमा गाईजात्रा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने प्रचलन छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ ।
छहरेसहित आसपासका क्षेत्रमा गत साल दिवंगत भएकाको सम्झनामा गाइजात्रा निकालिएको लिखु गाउँपालिका वडा नम्बर ६ भट्टथोकका युवा रामशरण डङोलले बताए ।
सो अबसरमा स्थानीय युवाहरुले ‘गाईजात्रा’ सांस्कृतिक पर्वलाई सबैले सम्मान गर्नुपर्ने धारणा राखे। भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ ।
यसरी छहरे बजार परिक्रमा गरि नेवार समुदायले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास राख्छन् । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आदेश दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक मान्यता छ ।

