चेपाङ समुदायको पर्वमा बिदा दिने निर्णय
काठमाडौं,भदौ १८ । बागमती प्रदेश सरकारले सीमान्तकृत चेपाङ समुदायको पर्व न्वाँगीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेशको मन्त्रीपरिषद् बैठकले यही भदौ २२ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रीपरिषद्को सोमबार यहाँ बसेको बैठकले चेपाङ समुदायको बाहुल्य रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
प्रदेश सरकारले यी तीन जिल्लामा गत वर्षबाट न्वाँगी पर्वमा चेपाङ समुदायलाई बिदा दिन सुरु गरेको छ । बैठकले प्रदेश विपत् व्यवस्थापन कोष २०८० कार्यविधि स्वीकृत गरेको छ ।
यस्तै, बैठकले सङ्गठन संरचना र दरबन्दीसहित प्रदेशको संक्षिप्त सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको मन्त्री श्रेष्ठले बताए ।

