आसिफ र सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य



काठमाडौं,भदौ १८ । एसिया कप क्रिकेटमा नेपालले जितका लागि भारतलाई दुई सय ३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ३० रन बनायो । 

नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय इनिङ्स खेले । उनले ९७ बलमा आठ चौकासहित सर्वाधिक ५८ रन बनाएका हुन् । अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३८ रन बनाए ।

यस्तै सोमपाल कामीले ५६ बलमा एक चौका र दुई छक्कासहित ४८ रनको महत्त्वपूर्ण योगदान गर्नुभयो । ओपनर आसिफ र कुशलले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

यस्तै दीपेन्द्रसिंह ऐरीले २९ र गुलशन झाले २३ रन बनाए । सन्दीप लामिछानेले नौ, भीम सार्कीले सात, कप्तान रोहित पौडेलले पाँच, कुशल मल्ल र करण केसीले समान दुई दुई रन जोडे ।

ललित राजवंशी शून्य रनमा आउट भए । बलिङमा भारतका मोहम्मद सिराज र रवीन्द्र जडेजाले तीन तीन विकेट लिए । मोहम्मद शामी, शार्दूल ठाकुर र हार्दिक पाण्डेयले एक एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्