बाँदर आतङ्कले किसान चिन्तित
महेन्द्रनगर,भदौ १९ । बाँदरले बालीनाली नष्ट गर्न थालेपछि क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका किसानहरू मर्कामा परेका छन् । चुरेक्षेत्रको वन जङ्लबाट आएका हुलका हुल बाँदरले खेतबारीमा लगाइएका तरकारीसहित अन्य बालीनाली खान र उपद्रव गर्न थालेपछि आजित भएका स्थानीय किसान सोमबार डिभिजन वन कार्यालय धनुषामा पुगेर समस्या समाधान गर्न अधिकारीहरूसँग आग्रह गरेका छन् ।
दिगम्बरपुर जिल्लाको तरकारी खेती हुने पकेट क्षेत्र मानिन्छ । स्थानीय रामनारायण महतोका अनुसार सयौँको सङ्ख्यामा गाउँ पसेका बाँदरले खेतमा लगाइएका घिरौँला, परबल, बोडी, काउली, भान्टा, करेला, लौका, काँक्रा आदि सबैखाले तरकारी र फलफूल खाइदिने गरेको छ । उनले २० भन्दा बढी समूहमा रहेका बाँदरले अहिले खेतबारी नै कब्जा गरेको र तिनलाई धपाउन जाँदा मानिसलाई चिथोर्ने गरेको जानकारी दिए ।
दिगम्बरपुरकै सञ्जय महतोले तरकारीको फूलसम्म बाँदरहरूले खाइदिने गरेको बताए । “बाँदरहरू तरकारी खानुभन्दा बढी उपद्रव बढी गर्ने गरेका छन् । जसले गर्दा बजारमा बिक्रीवितरणका लागि तरकारी लान सकिएको छैन,” उनको भनाइ छ ।
बाँदरले बालीनाली खाइदिँदा सखुवा महेन्द्रनगर, बडहरी, ढल्केबरलगायत वरपरका बजारमा तरकारीको बिक्रिवितरणमा कमी आएको छ । आवश्यक परिमाणमा तरकारी उपलब्ध नहुँदा तरकारीको मूल्य आकासिएको छ । स्थानीय राजकुमार महतोले बाँदर आतङ्कका कारण १५ रुपियाँ किलोमा पाइने भान्टा स्थानीय बजारमै ६० रुपियाँ किलोसम्म पाउन थालिएको बताए ।

