समाजवादको मर्मअनुसार अगाडि बढ्न पाइएन : शेरबहादुर देउवा
काठमाडौं,भदौ २४ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा उल्लेख गरिएको समाजवादको मर्मअनुसार अभ्यास नै गर्न नपाएको बताएका छन् ।आइतबार पार्टी कार्यालय सानेपामा तीन दिने ‘वीपी साहित्य महोत्सव’को उद्घाटन गर्दै उनले नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भएपनि यसको मर्मअनुसार अभ्यास गर्न नपाएको बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले समयको अन्तरालसँगै मुलुक पनि वीपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको जिकिर गरे। कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको उनले बताए ।
वीपीकै चिन्तनले मुलुक समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको भन्दै उनले नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले अहिले पनि वीपी विचारको अनुकरण गर्दै आएको बताए ।
सभापति देउवाले राज्यको सीमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीसँग मित्रवत ढङ्गले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नु र निर्णय गराउनु वीपीको स्वभाव रहेको जिकिर गरे।
वीपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक संघको संयोजनमा सुरु महोत्सव भाद्र २६ गतेसम्म चल्ने छ ।

