प्रधानमन्त्री प्रचण्ड अराजक भए, अब सरकारको नेतृत्व देउवाले गर्नुपर्छः शेखर कोइराला



काठमाडौं,भदौ २४ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने बताएका छन् । ११०औं विपी जयन्तीको अवसरमा आइतबार हेटौंडा-११ स्थित नवलपुरमा विपीको शालिक अनावरण गर्न हेटौंडा आएका कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नु पर्ने र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताए ।

उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अराजक हुँदै गएको आरोप लगाउँदै सरकार फेर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री प्रचण्डकै कारण धरानमा जातीय द्वन्द्व भएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौं भनेर भन्नुभयो । सुर्खेतमा गएर एक दुई महिनाभित्र डेढ दुई लाख जना मानिस सडक उतार्छौं भन्नुभयो ।’ कोइरालाले भने ।

कोइरालाले देशको प्रधानमन्त्रीले सडकमा मानिस उतार्छौं र जातीय राज्य बनाउँछौं भन्दै हिँड्दा धरानमा घटना घट्न पुगेको दोहोर्‍याए । ‘धरानमा धार्मिक लडाइँ नभएर जातीय द्वन्द्व भयो,’ उनले भने ।

कांग्रेस सबैभन्दा ठूलो दल भएकाले स्वभाविकरुपमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने उनको भनाइ थियो । उनले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्