सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई लखेटिरहेको छ : अध्यक्ष ओली



काठमाडौं,भदौ २४ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई छानी–छानी लखेटिरहेको आरोप लगाएका छन् ।

मीनबहादुर गुरुङ र यति होल्डिङ्सले राष्ट्रिय पुँजी निर्माणमा योगदान गरिरहेकाले उनीहरूलाई सरकारले दुःख दिने काम गरेको उनको भनाइ छ । पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा भने । 

राष्ट्रिय पुँजीको निर्माणमा योगदान दिइरहेका गुरुङ र यति होल्डिङ्सबिरुद्ध गायत्री मन्तर जपेजस्तो जपेर लखेट्ने काम सरकारले गरेको उनले टिप्पणी गरे ।  यति होल्डिङलाई खेद्नेहरू दलाल पुँजीवादीहरू भएको भन्दै ओलीले यस्ताहरूको विरोध गर्न पाउने अवस्था समेत मुलुकमा नरहेको बताए । 

सरकारको गलत कार्यको विरुद्ध बोल्दा सांसदले समेत समातिनु परेको उल्लेख गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा दलाल पुँजीवादले मुलुकमा तमासा देखाइरहेको बताए । उनले धनिपूर्जाको आधारमा जग्गा खरिद गर्ने गुरुङलाई किन समातेको ? सरकारलाई प्रश्न गरे । 

अध्यक्ष ओलीले भने, ‘मीनबहादुर गुरुङलाई किन समातेको होला ? पाँच छ जनाले खरिद गरिसकेको जमिन, उसले धनिपूर्जा हेरेर किन्यो । अर्कोसँग धनिपूर्जा हेरेर भूमिसुधारमा गएर पास गरेको होला नि । त्यसरी पास गरेर जग्गा किनेको मान्छेलाई किन कारबाही ?’ 

प्रतिक्रिया दिनुहोस्