भाटभटेनीका मीनबहादुर रिहा



काठमाडौं,भदौ २५ । जिल्ला अदालत काठमाडौंले ललितानिवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहित १८ जनालाई रिहा गर्न आइतवार आदेश दिएको छ । तीमध्ये १७ जनालाई धरौटी र एकजनालाई साधारण तारीखमा छाड्ने आदेश दिएको हो ।

अदालतले भाटभटेनी समूहका अध्यक्ष गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटी तोकेकोमा उक्त रकम बुझाएर गुरुङ आइतवार नै रिहा भएका छन् । न्यायाधीश भोलानाथ ढकालको इजलाशले उक्त प्रकरणमा पक्राउ परेका १८ अभियुक्तलाई धरौटीमा थुनामुुक्त गर्न आदेश दिएको हो ।

अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारीखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश भएको हो । धरौटी रकम फरकफरक छ ।

अदालतले रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, योगराज पौडेल, नारायणराज मिश्र र अरुणकुमार श्रेष्ठलाई जनही ७ लाख ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ । 

त्यसै गरी कलाधर देउजा र विनोद पौडेललाई जनही १५–१५ लाख रुपैयाँ धरौटी तोकेको छ । शिवजी भट्ट र ध्रुवप्रसाद अर्याललाई भने जनही ३ लाख ३० हजार रुपैयाँ धरौटी तोकिएको छ । बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र सञ्जयकुमार महर्जनलाई जनही १ लाख १० हजार रुपैयाँ धरौटी तोकिएको छ । लोकरी घिमिरेलाई १ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ । 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकील कार्यालयले सरकारी कागजात कीर्ते आरोपमा मुद्दा चलाएको थियो । 

प्रतिक्रिया दिनुहोस्