छहरे-टोखा सुरुङ्ग मार्ग निर्माणका लागि अर्थमन्त्रीसहितको टोलीले गर्यो अनुगमन



नुवाकोट,भदौ २५ । छहरे-टोखा सुरुङ्ग मार्ग निर्माणका लागि अर्थमन्त्रीसहितको टोलीले अनुगमन गरेको छ ।

सोमबार छहरे-टोखा सुरुङमार्ग निर्माण कार्य अघि बढाउन अर्थ मन्त्री डा प्रकाशशरण महत,भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, वन तथा वातावरण मन्त्रालयका डा विरेन्द्र महतो, नुवाकोट निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य हित बहादुर तामाङ लगायतको मन्त्री तथा सचिवको टोलीले स्थलगत अनुगमन गरेको हो ।

टोलीले वातावरणीय प्रभावका बारेमा समेत प्रतिवेदन तयार गर्ने र चीन सरकारलाई बुझाउने तयारी रहेको अर्थ मन्त्रालयका सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा माग गरिने सहयोगको कार्यक्रममा सुरुङ मार्ग निर्माणको प्रस्तावलाई अर्थ मन्त्रालयबाट प्राथमिकताका साथ राखिने सचिवालयले जनाएको छ । सो योजना सम्पन्न गर्न करिब रु ५० अर्ब लाग्ने अनुमान छ, यो वर्ष नेपालले रु एक अर्ब बजेट विनियोजन गरेर सुरुवात गरेकाले चीनको सहयोग भित्र्याएर योजना सम्पन्न गर्नेमा केन्द्रित रहेको अर्थमन्त्री महतले बताएका छन् ।

नेपाल–चीनको व्यापारिक नाका रसुवागढी हुँदै राजधानी काठमाडौँ आउजाउ गर्न सबैभन्दा छोटो दुरीमा पर्ने नुवाकोटको सडकलाई सुरुङ मार्गमार्फत काठमाडौँमा जोड्नसके दुई देशीय व्यापारको ढुवानीमा अहिलेको भन्दा आधा खर्च कम गर्न सकिने अर्थमन्त्री डा महतको भनाइ छ।
 
सुरुङ मार्ग निर्माणका लागि विभिन्न चरणका प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले निर्माण हुन्छ भन्नेमा ढुक्क हुन समेत अर्थमन्त्री महतले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्