पञ्चकन्या र लिखु जोड्ने पुल निर्माणको ठेक्का पाएको ३ वर्षदेखि अलपत्र



नुवाकोट,भदौ २६ । जिल्लाको पञ्चकन्या र लिखु जोड्ने पुलले ठेक्का पाएको तीन वर्ष बितिसक्दा समेत पुर्णता पाउन सकेको छैन । थान्सिङ र राई वस्ती बीच आवतजावत सहजताका लागि निर्माणाधीन सो झोलुङ्गे पुल कोरोना रोग र विविध कारण देखाई निर्माण कम्पनीले समयमा पुरा गर्न नसकेको हो ।

निर्माणको ठेक्का पाएको श्रीजना/आईडी/अन सुमन जेवी कम्पनीले पुल निर्माणको म्याद थप गर्दै ठेक्का तोड्ने गरेकाले समयमा निर्माण हुन नसकेको सरोकारवालाहरु बताउँछन् ।

बिक्रम संवत २०७७ साल असारमा निर्माणको १८ महिना पहिलो चरणमा गुज्रिएको थियोे । त्यस अवधिमा केहि ब्लक, फेब्रीक स्टील पार्टसहरु निर्माण भएको र कामको ४० प्रतिशत सकिएको सो पुलका इन्जिनियर हरिप्रसाद ओझा बताउँछन् ।

पछिल्लो समय नागरिक स्तरबाट पुल निर्माण ढिलाइका बिषय चर्को रुपमा उठन थालेपछि यसको सर्वत्र आलोचना भैरहेको छ । पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले ठेकेदारको बदमासीले स्थानीय नागरिकले समयमा सुविधा भोग गर्न नपाएको बताए ।

उता माओवादी केन्द्रका युवा नेता राजन गौतम (नकुल) ले सामाजिक संजाल मार्फत यथासिघ्र पुल निर्माण गर्न र सम्बन्धित निकायले सत्यतथ्य सार्वजनिक गर्न अनुरोध गरेका छन् ।

निर्माणको ठेक्का पाएको कम्पनीका वसन्त बुढाथोकीले आफ्नो गल्ती भएको स्विकारेका छन् । साझापथसंगको कुराकानीमा बुढाथोकीले आउँदो माघ मसान्तसम्म पुल निर्माण भैसक्ने बताए ।

झण्डै तीन करोड रकम सम्झौतामा निर्माणको पहिलो चरणमा बनेका कतिपय संरचना पुनः रिसेट गर्नुपर्ने भएकाले केहि समय लाग्ने बुढाथोकीले बताए । ‘टेक्निकल मिस्टेकका कारण ढिलाइ भएकै हो’-ठेकेदार बुढाथोकीले भने- ‘फलामका सामग्री धमाधम निर्माण भैरहेकाले चाडैं सक्ने तयारी भैरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्