नमुना बस्ती खण्डहर



डोटी,भदौ २८ । डोटी सिलगढीदेखि आधा घण्टाको दुरीमा पूर्वीचौकी गाउँपालिका–२, बाटेओखर रहेको छ। बाटेओखर सडक छेउमै खण्डहर बनेको नमुना बस्ती देखिन्छ।  पहिलो पटक सो क्षेत्रमा पुग्नेलाई सिङ्गो गाउँ नै ठुलै विपत्मा परेर स्थानीय गाउँ छोडेर गएको जस्तो लाग्न  सक्छ तर यो मानवरहित खण्डहर बस्तीको कथा भने बेग्लै छ। 

मुक्त हलिया पुनस्र्थापना कार्यक्रम अन्तर्गत १८ घरपरिवारको बसोबासका लागि निर्माण गरिएको यो बस्ती खण्डहरमा परिणत भएको हो। सो बस्ती बासेबासका लागि उपयुक्त नभएकाले कसैले बस्न नमानेको बताइन्छ।  हलिया मुक्ति आन्दोलनका केही अगुवा र सरकारी कर्मचारीको मिलेमतोमा एकान्त तथा अपायक स्थानको जग्गा खरिद गरी घर निर्माण गरिएकाले हलिया परिवारले बस्न नमानेपछि घरहरू खण्डहरमा परिणत भएका हुन्। 

हलिया मुक्ति आन्दोलनका अभियन्ता गोरखबहादुर सार्की भन्छ्न, “हलिया बस्ती बसाउन त्यो ठाउँ रोजिएकै होइन। कसैले जग्गा बेच्नुपर्ने थियो र कसैले कमिसन खानुपर्ने भएकाले व्यक्तिगत स्वार्थका लागि उक्त ठाउँमा घरटहरा बनाइएको हो।”

नेपाल सरकारले डोटी जिल्लाका मुक्त हलियाका लागि नमुना बस्ती निर्माण गर्ने भन्दै आर्थिक वर्ष २०७४/७५ मा ९४ लाख ५० हजार रकम विनियोजन गरेको थियो। मुक्त हलियाका लागि बस्ती स्थापना गर्न विद्यालय, खानेपानी, विद्युत् जस्ता न्यूनतम पूर्वाधारको सुविधा हुनुपर्ने व्यवस्था गरिएको थियो।

केही व्यक्तिको स्वार्थ र आर्थिक चलखेलका कारण सडक, खानेपानी, विद्युत्, विद्यालयको पहुँच नभएको जङ्गलमा बस्ती बसाउन खोज्दा यो समस्या आएको हलिया अगुवाको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्