प्रधानमन्त्री प्रचण्ड अमेरिकामा



काठमाडौं,भदौ ३१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका पुगेका हुन् । 

प्रधानमन्त्री प्रचण्डलाई आइतबार जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थाई प्रतिनिधि लोकबहादुर थापा लगायतले  स्वागत गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको हो। 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री  ‘प्रचण्ड’ शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गरेका हुन् । आगामी असोज ४ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

परराष्ट्र मन्त्रालयले दिएको कार्यसूची अनुसार महासभाको आमबहसमा ‘विश्वासको पुनर्निर्माण र विश्वव्यापी एकताको पुनर्निर्माणः २०३० एजेन्डा र यसको दिगो लक्ष्यमा सबैका लागि शान्ति, समृद्धि, प्रगतिका लागि द्रुत कार्य’ शीर्षकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन । 

महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै असोज २ गते संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा उनी सहभागी हुनेछन ।

अमेरिकामा रहँदा उनले राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसम्बन्धी शिखर सम्मेलन र जलवायु महत्वाकाङ्क्षा शिखर सम्मेलनमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

प्रतिक्रिया दिनुहोस्