मनाइयो वास्तु दिवस, गरियो विश्वकर्मा पूजा



काठमाडौं,असोज २। आश्विन सङ्क्रान्ति अर्थात् कन्या राशिमा सूर्य प्रवेश गरेका दिन सोमबार कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाएका छन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाइएको हो । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराई यो दिवस मनाउने चलन छ । 

बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती नदीको मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध जल भएको नदी किनारलगायत शुद्ध स्थलमा सेलाउने गरिन्छ ।
  
आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

 द्वापरयुगमा भगवान श्रीकृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन् । 

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै तयार पारेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् । 

यही सम्झनामा नेपालका कालीगढहरूले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् ।

वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण शुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ । स्थापत्यलाई अथर्व वेदको उपवेद मानिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्