मौलाकाली केबलकार मर्मतपछि पूर्णकालीन सञ्चालनमा आयो



चितवन,असोज २ ।  गैंडाकोटमा सञ्चालित मौलाकाली केबलकार पूर्णकालीन रूपमा सञ्चालनमा आएको छ । गत आइतबारदेखि शुरु भएको केवलकारको नियमित मर्मतसम्भार भदौ ३१ गते सकिएको मौलाकाली केबलकार कम्पनीले जानकारी दिएको छ । 

यसअघि अपराह्न दैनिक ३ बजेबाट केबलकारको मर्मतसम्भार हुंँदै आएको थियो । आश्विन १ गतेदेखि केवलकार पूर्ववत समय तालिका अनुसार नै सञ्चालन भएको कम्पनीका प्रबन्धक पौडेलले जानकारी दिए । उनका अनुसार केवलकार हरेक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म संचालन हुनेछ भने शनिबार र बिदाका दिनमा बिहान ५ः३० बजेदेखि सञ्चालन हुनेछ । 

पूर्णकालीन सञ्चालनमा आएसँगै कम्पनीले छूट सेवा थप गरेको पौडेलले बताए । यसअघि हरेक बुधबार अपराह्न दिउँसो २ बजेदेखि ५० प्रतिशत छूट अफर दिँदै आएकोमा असोजदेखि बुधबार पूर्णकालीन समयमै छूट सुविधा दिइने उनले बताए । 

इभिनिङ अफरप्रति आम यात्रुले दर्शाएको सद्भाव र प्रतिक्रिया स्वरूप यो अफर ल्याइएको र यस अफरबाट अझ धेरै यात्रु तथा भक्तजन लाभान्वित हुने विश्वास लिएको पौडेलले बताए । हाल केवलकारको दुईतर्फी साधारण टिकट मूल्य ५५० रुपैयाँ कायम गरिएको  छ । यस अफरअन्तर्गत अब यात्रुहरूले २७५ रुपैयाँमै केवलकारको दुईतर्फी यात्रा गर्न पाउनेछन् । 

केवलकारकारको दूरी पाँच मिनेटको छ । केवलकारबाट झरेर केही मिनेट पैदल यात्रा गरी मन्दिर पुग्न सकिन्छ । केवलकार स्थानीयवासीको सहकार्यमा आईएमई ग्रुपले निर्माण गरेको हो ।

केवलकार बनेसँगै नवलपरासी, चितवन, तनहुँसँगै छिमेकी जिल्ला र बाहिरी जिल्लाबाट घुम्न आएका पर्यटक मन्दिर पुग्ने गरेका छन् । मन्दिरमा बिहान ५ बजेअघि र साँझ सूर्यास्त भएपछि पुगेपछि आरती गर्ने गरिन्छ । मन्दिरसँगै सञ्चालनमा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलमका ३२ जना र पुजारी कर्मचारीसँगै भक्तजनले आरती गर्ने गर्दछन् । केबलकार वैैशाख १ गतेबाट सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्