दुई क्विन्टल १० किलो लागूऔषध गाँजासहित दुई पक्राउ



महोत्तरी,असोज ३ । महोत्तरी प्रहरीले दुई क्विन्टल १० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटीगएको प्रहरी टोलिले जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिर नजिकबाट दुई क्न्टिल १० किलो लागूऔषध गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बा.प्र.०१–०२६ च ४९२१ नम्बरको पिकप गाडीमाथि शङ्का लागि चेकजाँच गर्दा लुकाई छिपाई राखिएको उक्त परिमाणमा लागू औषध गाँजा बरामद भएको हो ।

लागूऔषध बरामद भएपछि धादिङ जिल्ला थाक्रे गाउँपालिका– ७ बस्ने वर्ष २३ को जीवन तामाङ र महोत्तरी जलेश्वर नगरपालिका– ७ बस्ने वर्ष २५ को सुरेन्द्र दासलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पिकअप भित्र गाडीको बीचमा १४ वटा पोकामा राखिएको गाँजा चारै तिरबाट मिनिरल वाटरको पोकाले छोपिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

“प्रहरीको आँखा छल्नलाई पिकअपमा मिनिरल वाटरको कार्टुनले छोपेर राखेको थियो, झट हेर्दा मिनिरल वाटर बोकेर आएको देखिन्थ्यो ।” प्रहरी नायव उपरीक्षक गिरीले भने, “पानी बोकेको पिकअपको चालक र सहचालकको गतिविधि शङ्कास्पद देखिएपछि मिनिरल वाटरको काटुर्न हटाएर हेर्दा गाँजा बरामद भएपछि , हामी त छक्कै पर्‍यौँ ।”

मकवानपुरबाट सो गाँजा लुकाइछिपाई ल्याइएको र भारतीय सिमाकटाउने योजना हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ । पिकअप  गाडी, पानीको कार्टुन र गाँजासहित चालक र सहचालकलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्