दशैको समयमा नुवाकोटमा विद्युतिय माइक्रोबस



नुवाकोट,असोज ४ । दुई दशकदेखि सेवा दिदैं आईरहेको नेपाल माइक्रोबस प्रालिले यहि दशैंअघि विद्युतिय माइक्रोबस सञ्चालनमा ल्याउने भएको छ ।

बिहिबार बट्टारमा पत्रकार सम्मेलन गर्दै कम्पनीका सल्लाहकार राजेन्द्र आचार्यले दशैँअघि विद्युतिय माइक्रोबस सञ्चालनमा ल्याउने जानकारी दिए । आरामदायी, आकर्षक डिजाइन, विभिन्न नवीनतम् फिचर, ध्वनी प्रदुषणरहित र वातावरणमैत्री माइक्रोबसले यात्रुको यात्रा सहज गर्ने भएकोले किङलङ्ग माइक्रो बसको उत्पादन र सिजी मोटर्सको सहकार्यमा उक्त विद्युतिय माइक्रो बसहरु त्रिशूली-काठमाडौं र नगर यातायातको रुटमा सञ्चालनमा ल्याएको उनले बताए । माईक्रोबस सञ्चालनमा दुईदशको लामो अनुभव बटुलेका कारण अन्य यातायात कम्पनीको तुलनामा जिल्लामा आफ्नो कम्पनीको सेवाले फड्को मार्ने उनले दावी समेत गरे ।

विद्युतिय सवारीसाधन सञ्चालनको लागि आवश्यक चार्जिङ स्टेशन, चालक र सहचालकको छनौट तथा तालिम कार्य अघि बढी सकेको कम्पनीका अध्यक्ष नवराज आचार्यले जानकारी दिए । हाललाई १५ माईक्रो बस थप गरिने र सेवा विस्तार गर्दै थप गर्दै १४ र ११ सिटको सेवा सुरु गरिने उनले बताए ।

हाल कम्पनीको ३५ वटा माईक्रोबस सञ्चालनमा रहेको कम्पनीका जिल्ला अध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए । जसमा ६ वटा त्रिशूली-काठमाडौं रुटमा र अन्य २९ वटा नुवाकोटभित्र सञ्चालनमा रहेको उनले बताए ।

यस्तै, टिमुरे बस तथा मिनीबस यातायात प्रालिले पनि दशैंअघि त्रिशूली-काठमाडौं विद्युतिय माईक्रोबस सञ्चालनमा ल्याउन तयारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्