देशमा हिंसा भड्काउने काम भइरहेको छ : अध्यक्ष ओली



ओखलढुंगा,असोज ७ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय देशमा हिंसा भड्काउने काम भइरहेको बताएका छन् । 

सहिद गुरु लुइँटेलको स्मृतिमा निर्माण गरिएको पार्क उद्घाटन गर्न जिल्लाको मोलुङ गाउँपालिका रामपुर आएको ओलीले सम्बोधनका क्रममा यस्तो बताएका हुन् । 

वर्तमान सरकारले नागरिकको पक्षमा महत्त्वपूर्ण काम गर्न नसकेको आरोप उनले लगाए । देशमा विभिन्न प्रकारका अशान्ति फैलाउने, हिंसा भड्काउने गतिविधि भइरहेको बताउँदै अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकारले शान्ति स्थापनाका लागि काम गर्न नसकेको चर्चा गरे ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले सुन प्रकरणमा सरकारले प्रभावकारी अनुसन्धान गर्न नसकेको टिप्पणी गरे । वर्तमान सरकारको सत्तामा बसिरहने औचित्य समाप्त भएको समेत अध्यक्ष ओलीले बताए । 

चम्पादेवी गाउँपालिका घोराखोरीका गुरु लुइँटेलको द्वन्द्वकालमा तत्कालीन माओवादीले २०६० साल भदौ २२ गते बरुणेश्वर रामपुरमा हत्या गरेको थियो । लुइँटेल तत्कालीन समय एमाले निकट शिक्षक सङ्गठन ओखलढुङ्गाका अध्यक्ष थिए । लुइँटेलको हत्या भएकै स्थानमा उनको स्मृतिमा पार्क निर्माण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्