राष्ट्रिय उपकुलपति सम्मेलन : उच्च शिक्षाको अवस्था सुधारका लागि साझा प्रतिबद्धता



काठमाडौं,मंसिर १३। काठमाडौं विश्वविद्यालय (केयु)ले शुक्रवार नेपालभरका विश्वविद्यालयका उपकुलपतिहरूको सम्मेलन सम्पन्न गरेको छ । ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तरराष्ट्रियकरण’ विषयक उक्त सम्मेलनले उच्च शिक्षाको अवस्था सुधार गर्न नेपालका विश्वविद्यालयहरूका लागि साझा मार्गचित्र निर्माण गर्न बाटो खुला गरेको बताइएको छ ।

सम्मेलनमा सहभागी उपकुलपतिहरूले नेपालका विश्वविद्यालयले भोगिरहेको समस्या र त्यसको समाधानका उपायबारे बृहत् छलफल गरेका थिए । उनीहरूले नेपालको उच्च शिक्षालाई अन्तरराष्ट्रियकरण गर्न र नेपाली विद्यार्थीहरूको निरन्तर पलायनको समस्यालाई सुल्झाउन कार्ययोजना विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ । 

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको मूल क्याम्पसमा भएको सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, रेक्टर, डीन लगायत १५० भन्दा बढीको सहभागिता थियो । 

कार्यक्रममा प्रधानमन्त्री दाहालले ज्ञान उत्पादन र सहयोग प्रणालीमार्फत वर्तमान चुनौतीलाई अवसरमा परिणत गर्नमा सम्मेलन महत्त्वपूर्ण रहेको बताउनुभयोे । प्रधानमन्त्री दाहालले विश्वविद्यालयका लागि स्वशासनको खाका निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

राज्यमन्त्री प्रमिला कुमारीले विद्यार्थीको गतिशीलतालाई सम्बोधन गर्न सान्दर्भिक उपाय खोज्नुपर्नेमा जोड दिएकी थिइन् । मन्त्री कुमारीले राष्ट्रिय र वैश्विक शैक्षिक मापदण्डको ठोस प्रावधानसहित उच्च शिक्षालाई सुदृढ गर्न आवश्यक रहेको बताइन् । 

प्रतिक्रिया दिनुहोस्