नेपाल भारतसँग एक सय ३२ रनले पराजित



काठमाडौं,माघ २० । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा भएको सुपर सिक्स खेलमा नेपालले भारतसँग फराकिलो हार ब्यहोरेको हो ।

भारतले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए । आकाश चन्द १८ रनमा र दुर्गेश गुप्ता २९ रनमा अविजित रहे ।

भारतका सौमी पाण्डेले सर्वाधिक ४ विकेट लिए । यस्तै अर्शिन कुलकर्नीले २ तथा राज लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिषेकले समान एकरएक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो ।

भारतका सचिन दासले सर्वाधिक १ सय १६ रनको शतकीय पारी खेले । यस्तै कप्तान सहरानले पनि शतक बनाए ।नेपालका गुलशन झाले ३ र आकाश चन्दले एक विकेट लिए । नेपाल सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग हारेको थियो । समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग हारेको नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्