बजार कब्जा गर्दै नुवाकोटको खरबुजा, भारतीय उत्पादनलाई विस्थापित गर्दै



नुवाकोट,जेठ १२।  जिल्लाको विभिन्न क्षेत्रमा खरबुजा उत्पादन हुन थालेपछि तराई र भारतबाट आउने खरबुजा अहिले बन्द भएको छ । जिल्लामै उत्पादित ताजा सस्तोमा खरबुजा उपलब्ध भएपछि नुवाकोटका फलफूल पसल नुवाकोटमै फलेका खरबुजाले भरिएका छन् । 

जिल्लाबाहिरबाट आउने खरबुजा ताजा र रसिलो नहुने, मूल्य पनि महँगो पर्ने भएकाले जिल्लामै उत्पादित खरबुजाको माग बढेको विदुर चोकका फलफूल पसले कृष्ण डङ्गोलले बताए । जिल्लाबाहिरबाट आउने खरबुजामा विषादी प्रयोग र सुई लगाइएको पाइएकोले उपभोक्ताले जिल्लाकै खरबुजा खोज्ने गरेकोसमेत उनले बताए ।

जिल्लामै उत्पादित खरबुजा ३० देखि ४० प्रतिकेजीमा खरिद, बिक्री हुने गरेको छ । तर, बाहिरबाट आएको खरबुजा प्रतिकेजी ६० रुपैयाँभन्दा बढी पर्ने गरेको छहरे बजारका फलफूल तथा तरकारी व्यवसायी बिकास पुडासैनीले बताएका छन् । उनले पञ्चकन्यामै उत्पादित खरबुजा बेचिरहेका छन् ।

जिल्लाको पञ्चकन्या गाउँपालिकाको बानियाँटार, सिमरा फाँट र चौघडा फाँटमा हरेक वर्ष माघमा आलु खनेर खरबुजाको बिरुवा रोप्ने गरिएको कृषि प्राविधिक भुवन तिमिल्सिनाले बताए । यस क्षेत्रका कृषक हिउँदे धान लगाउन छाडेर नगदे बालीको रूपमा रहेको खरबुजा खेतीमा विगत दुई वर्षदेखि आकर्षित भइरहेका छन् । 

सिमरा फाँटमा मात्र यस वर्ष एक लाख खरबुजाको बिरुवा रोपिएको स्थानीय रामकुमार राईले बताए । रामकुमारसँगै टीकाबहादुर राई, रत्नबहादुर राईसहित ७५ जनाले खरबुजा रोपेका थिए । उनीहरूलाई अहिले खरबुजा बिक्री गर्न भ्याई–नभ्याई भइरहेको छ । त्यसो त विरुवा उत्पादन समयमा ६५ हजार विरुवा इन्द्रायणी माध्यमिक विद्यालयले मात्र वितरण गरेको थियोे ।

जिल्लामा यस वर्ष बाहिरको खरबुजा कमै आएको लक्ष्मी फलफूल सेन्टर विदुरका मोतीलाल दुलालले बताए । चौघडामा २५ किलोको खरबुजा फलेको देखेर नुवाकोट उद्योग वाणिज्यका पूर्व अध्यक्ष धननारायण चित्रकारले दङ्ग पर्दै भने, ‘गरे के नहुने रहेछ र ?’

प्रतिक्रिया दिनुहोस्