काठमाडौंमा चिनियाँ शैक्षिक प्रदर्शनी हुने



काठमाडौं,असार ३ । काठमाडौंको बौद्धस्थित होटल हायात रिजेन्सीमा मंगलवार एक दिने चिनियाँ शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । चीनको उच्च तहको शैक्षिक अवस्थाबारे नेपाली विद्यार्थी र अभिभावकलाई जानकारी गराउने उद्देश्यले नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले प्रदर्शनी आयोजना गर्न लागेको हो । 

प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने सामान्य तथा विश्व प्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजले भाग लिने आयोजकले जनाएको छ । 

नेपाल–चीन सांस्कृतिक शैक्षिक परिषद्का अध्यक्ष डा हरिश्चन्द्र साहका अनुसार ३१ वटा   विश्वविद्यालयका स्टल रहने, प्रत्येक स्टलमा नेपानी विद्यार्थी र तिनका अभिभावकलाई चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्तिलगायत विभिन्न विषयमा विज्ञहरूले जानकारी दिनेछन् ।

मंगलवार बिहान उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले संयुक्तरूपमा प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ । ‘प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । प्रदर्शनीमा सहभागी भइ आफ्ना छोराछोरीको उच्च शिक्षाका बारेमा आवश्यक परामर्श लिन हामी अभिभावकसँग अनुरोध गर्दछौं,’ साहले भने, ‘साथै विद्यार्थी स्वंय उपस्थित भई उच्च शिक्षाबारे आवश्यक जानकारी लिउन् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।’

उनले चीन छात्रवृत्ति परिषद्, जनवादी गणतन्त्र चीनको शिक्षा मन्त्रालय, नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले डेढ दशकभन्दा लामो समयदेखि चिनियाँ शैक्षिक मेला आयोजना गर्दै आएको जानकारी दिए ।   

पहिलो चिनियाँ शैक्षिक प्रदर्शनी सन् २००३ मा आयोजना गरिएको थियो भने त्यसयता प्रत्येक वर्ष प्रदर्शनी आयोजना हुँदै आएको साहले जानकारी दिए । ‘चीनमा १६० देशका पाँच लाख विद्यार्थी विभिन्न विषयमा अध्ययनरत छन् । प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २०० भन्दा बढीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ,’ उनले भने, ‘पछिल्ला दिनमा सरकारी छात्रवृत्ति विद्यार्थीबाहेक सेल्फ फाइनान्सका विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै हरेक वर्ष यस्तो प्रदर्शनी आयोजना गर्दै आएका छौं ।’ 

यस किसिमको शैक्षिक प्रदर्शनीबाट नेपाली विद्यार्थीले चिनियाँ शिक्षाको बारेमा मात्रै नभई आगामी दिनमा हाम्रो मैत्रीपूर्ण सम्बन्ध थप मजबुत हुने विश्वास गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्