“पूर्वी नुवाकोटको मेरुदण्डः गुर्जेभञ्ज्याङ–दुप्चेश्वर सडक अनुगमन”

नुवाकोट, असार ११। पूर्वी नुवाकोटको आर्थिक तथा भौतिक विकासको मेरुदण्डका रूपमा रहेको गुर्जेभञ्ज्याङ–समुन्द्रादेवी–पुरानो गा.वि.स भवन–रातमाटा महतटोल–लिखुपुल–महाकाली–कुखुरे–मानेभञ्ज्याङ–दुप्चेश्वर सडकखण्डको अनुगमन सम्पन्न भएको छ।
वाग्मती प्रदेश सरकारको गौरवको योजना अन्तर्गत पर्ने यो महत्त्वपूर्ण सडकखण्डको स्थलगत निरीक्षण संघीय सांसद तथा पूर्वमन्त्री हितबहादुर तामाङ, वाग्मती प्रदेशकी सांसद तथा निवर्तमान उपसभामुख राधिका तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, शिवपुरी गाउँपालिकाका उपाध्यक्ष विरबहादुर तामाङ, पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापा, प्राविधिक टोली र स्थानीय जनप्रतिनिधिहरूको टोलीले संयुक्त रूपमा गरेका हुन्।
अनुगमनका क्रममा स्थानीयवासीहरूले बजेट विनियोजन गरी सडक निर्माणमा प्राथमिकता दिएकोमा जनप्रतिनिधिहरूलाई न्यानो स्वागत गर्दै आभार प्रकट गरे। सडक निर्माणले यातायात सहज हुने, कृषि उत्पादनको बजारीकरणमा टेवा पुग्ने र समग्र क्षेत्रको समुन्नतिमा सकारात्मक प्रभाव पार्ने स्थानीयको विश्वास छ।