रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा
काठमाडौं,कात्तिक २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने चीन भ्रमणका लागि आज प्रस्थान गरेको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा चीन गएको टोलीले भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह तथा संस्थागत क्षमता अभिवृद्धिलगायत विषयमा छलफल गर्नेछ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार दुवै पार्टीले यस भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएका छन्।
भ्रमण दलमा महामन्त्री आचार्यसहित रास्वपाका सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी छन्।

