विदुर नगरपालिकाको बजेट प्रस्तुतिका क्रममा एमाले सदस्यको व्यवहारप्रति उपप्रमुखको आपत्ति

नुवाकोट,असार ११ । विदुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुतिका क्रममा नगरसभामा एमालेबाट निर्वाचित सदस्यहरूले देखाएको व्यवहारप्रति नगर उपप्रमुख प्रभा बोगटीले कडा आपत्ति जनाउँदै सार्वजनिक रूपमा भत्सर्ना गरेकी छन्।
नगर उपप्रमुख बोगटीले नगरसभामा आज बजेट पेश गर्ने र आगामी असार २० गतेको नगरसभामा छलफल तथा समझदारीबाट बजेट पारित गर्ने पूर्वसमझदारी विपरीत, एमाले पक्षबाट भएको अशोभनीय गतिविधि सभात्मक मर्यादाविपरीत रहेको टिप्पणी गरिन्। “सभामा एमालेको बहुमत छ भन्ने दम्भले यस्तो व्यवहार देखाएको हो,” उपप्रमुखले भनिन्।
उनले संविधानबमोजिम आफू १३ वटै वडाबाट जनताले प्रत्यक्ष निर्वाचित गरेको उपप्रमुख भएकोले बहुमतको पार्टीको भन्दा बढी जनप्रतिनिधिका रूपमा उत्तरदायी रहेको बताइन्। उपप्रमुखले स्थानिय सरकारमा बहुमत र अल्पमतको परिकल्पना नभएको कुरामा सबै पक्ष स्पष्ट हुनुपर्नेमा जोड दिइन्।
“अघिल्लो कार्यकालमा विदुर नगरपालिकालाई पार्टीको प्राइभेट कम्पनी बनाउने प्रयास गरिएको थियो,” उपप्रमुखको आरोप छ, “आज पुनः संख्याको आधारमा भएको यस्तो व्यवहार संघीय व्यवस्थामाथि नै प्रहार हो।”
उनले विगत केही दिनदेखि नगरपालिकाको बजेट छलफल निष्कर्षमा पुग्न नसक्नुमा पनि केही जनप्रतिनिधिको गैरजिम्मेवार र दोहोरो चरित्र जिम्मेवार रहेको उल्लेख गरिन्।
नगर उपप्रमुखको यस्तो अभिव्यक्तिपछि आगामी नगरसभा थप गरम हुने संकेत देखिएको छ।