बागमती नदीको जलसतह सतर्कता तहमा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, असार १५ गते। जल तथा मौसम विज्ञान विभागले काठमाडौँको गौरीघाटस्थित बागमती नदीमा जलसतह सतर्कता तह नजिक पुगेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
आज साँझ ४ बजे जारी सूचनामा नदी किनारको बाटो भएर यात्रा गर्ने तथा तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सावधानी अपनाउन भनिएको छ।
विभागले पछिल्ला केही घण्टामा परेको अविरल वर्षाका कारण नदीको बहाव तीव्र रूपमा बढिरहेको जनाएको छ। यसले गर्दा बाढीको सम्भावना समेत रहेकोले मानिसहरुको ज्यान र सम्पत्ति सुरक्षित राख्न उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
साथै, नदी किनारका क्षेत्रहरुमा अनावश्यक आवतजावत नगर्न र सम्भावित बाढी प्रभावित क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।