झापाको कचनकवलमा पहिलो पटक व्यावसायिक मखना खेती, स्थानीयको चासो बढ्यो
झापा,जेठ १६ । झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ। धान खेतीका लागि परिचित क्षेत्रमा पानीमा फल्ने कमल प्रजातिको पौष्टिक खाद्य पदार्थ मखनाको खेती सुरु भएपछि यो खेती स्थानीयवासी तथा किसानहरूको चासोको विषय बनेको छ।
कचनकवल गाउँपालिका–४ केचनाका ३९ वर्षीय युवा कृषक चन्द्र राजवंशीले भारतको विहारबाट प्रविधि सिकेर २० बिघा क्षेत्रफलमा मखना खेती सुरु गर्नुभएको हो। धान र मकै उत्पादन हुने खेतमा पानी जमाएर गरिएको यो खेती झापामै नयाँ र फरक कृषि अभ्यासका रूपमा हेरिएको छ।
राजवंशीले १० वर्षका लागि प्रतिविघा ३० मन धान बराबरको रकम अग्रिम भुक्तानी गरी भाडामा लिएको जमिनमा मखना खेती थालेको बताउनुभयो। भारतका सीमावर्ती क्षेत्रमा मखना खेतीबाट राम्रो आम्दानी हुने देखेपछि नेपालमा पनि यसको सम्भावना खोज्ने उद्देश्यले जोखिम मोलेर ठूलो लगानीमा खेती सुरु गरेको उहाँको भनाइ छ।मखना पानीमा फल्ने कमल प्रजातिको वनस्पति हो, जसका फराकिला पात काँडाले ढाकिएका हुन्छन्। वैशाख अन्तिम सातादेखि फूल लाग्न सुरु हुने मखना साउन अन्तिम सातादेखि पाक्न थाल्छ। कृषक राजवंशीका अनुसार यसको खेतीका लागि सुरुआती चरणमा धेरै मेहनत आवश्यक पर्छ। पुस महिनादेखि खेत खनजोत गरी बलिया आली बनाइन्छ र निरन्तर पानी जमाइन्छ।
आठ महिनापछि मात्र उत्पादन प्राप्त हुने भएकाले यो खेतीमा धैर्यता र पर्याप्त लगानी आवश्यक पर्ने उहाँको अनुभव छ। बिउदेखि प्रविधिसम्म भारतबाट ल्याएर खेती सुरु गर्दा हालसम्म करिब १४ लाख रुपैयाँ खर्च भइसकेको उहाँले जानकारी दिनुभयो। उत्पादित मखना भारत निर्यात गर्न सके प्रतिविघा तीन लाख रुपैयाँसम्म नाफा लिन सकिने उहाँको अनुमान छ।
नेपालमा हालसम्म व्यावसायिक रूपमा मखना खेती सुरु नभएकाले बजार व्यवस्थापन तथा सरकारी नीतिगत व्यवस्था स्पष्ट नभएको राजवंशीको भनाइ छ। उत्पादनपछि बजारीकरण र निर्यात प्रक्रियामा सहजीकरण आवश्यक रहेको उहाँले बताउनुभयो। मखना खेती सुरु भएसँगै कचनकवल क्षेत्रमा यसको अवलोकन गर्न आउनेहरूको संख्या पनि बढ्न थालेको छ। स्थानीय खुसी राजवंशीका अनुसार फरक प्रकारको खेती भएकाले दैनिक धेरै किसान खेतसम्म पुग्ने गरेका छन्।
धार्मिक तथा स्वास्थ्य दुवै दृष्टिले महत्वपूर्ण मानिने मखना नेपालमा मुख्यतः भारतबाट आयात हुँदै आएको छ। पोषणविद्का अनुसार मखनामा प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, म्याग्नेसियम, पोटासियम र भिटामिन ‘सी’ प्रशस्त मात्रामा पाइन्छ। रासायनिक मल तथा विषादीबिनै उत्पादन गर्न सकिने भएकाले मखनालाई ‘सुपर फुड’ तथा ‘अर्गानिक खाद्य’का रूपमा समेत चिनिन्छ।
सरकारी सहयोगबिना आफ्नै लगानीमा बोरिङ जडान गरी खेती गरिरहेका कृषक राजवंशीले मखनाले उचित बजार पाए आगामी वर्षदेखि खेती अझ विस्तार गर्ने योजना रहेको बताउनुभएको छ।

