डोना हिमतालको जोखिमले मर्स्याङ्दी तटीय क्षेत्रमा चासो बढ्यो
लमजुङ,भदौ ३१ । मनाङको नासो गाउँपालिका–२ स्थित डोना (थुलागी) हिमतालको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ ।
विगतदेखि जोखिमयुक्त मानिएको हिमतालको अवस्था, क्षेत्रफल र पानीको मात्रा पुनः अध्ययन तथा नियमित अनुगमन गर्नुपर्ने देखिएको छ । ताल फुटेर ठूलो बाढी आएमा मनाङ हुँदै मर्स्याङ्दी नदीको तल्लो तटीय क्षेत्रसम्म प्रभाव पर्न सक्ने भएकाले पूर्वसूचना र विपद् प्रतिकार्यको तयारी आवश्यक रहेको अधिकारीहरूले बताएका छन् ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले तालमा बालुवा तथा माटो थुप्रिँदै गएकाले थप अध्ययन र जोखिम न्यूनीकरणका लागि पहल आवश्यक रहेको बताउनुभयो । ठूलो हिमताल विस्फोटजन्य बाढी आएमा जिल्लाको विद्यमान स्रोतसाधनले सामना गर्न कठिन हुने उहाँको भनाइ छ ।
लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले सम्भावित बाढीबाट सुन्दरबजार आसपासका तल्लो भूभाग, बेँसीसहरका केही क्षेत्र तथा मर्स्याङ्दी करिडोरका जलविद्युत् आयोजना जोखिममा पर्न सक्ने बताउनुभयो ।
हिमतालका जानकार सुदन विकास महर्जनले डोना हिमतालको हालको अवस्था स्थलगत अध्ययनबाट मात्रै यकिन गर्न सकिने भन्दै जोखिमयुक्त हिमतालको नियमित, विशेषगरी दुई–तीन वर्षको अन्तरालमा, अनुगमन गर्नुपर्ने बताउनुभयो । सम्भावित जोखिम न्यूनीकरणका लागि बहाव क्षेत्र पहिचान, पूर्वसूचना प्रणाली र स्थानीय तह तथा सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ छ ।

