साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित हुँदै नेपालको यात्रा सेमिफाइनलमै टुङ्गियो



काठमाडौँ, जेठ २१ । भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल साविक विजेता बङ्गलादेशसँग २–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

गोवास्थित जवाहरलाल नेहरू रङ्गशालामा बुधबार भएको खेलमा नेपालले सुरुआती अग्रता जोगाउन नसक्दा फाइनल पुग्ने अवसर गुमाएको हो।

नेपालका लागि खेलको २३औँ मिनेटमा गीता रानाले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। तर दोस्रो हाफ सुरु भएको एक मिनेटमै बङ्गलादेशकी ऋतु पोर्ना चक्माले बराबरी गोल फर्काइन्।प्रतिस्पर्धात्मक बनेको खेलको इन्जुरी समयमा सगोरिकाले निर्णायक गोल गर्दै बङ्गलादेशलाई तेस्रो पटक फाइनलमा पुर्‍याइन्।

यस हारसँगै नेपाली महिला टोलीको उपाधि जित्ने सपना फेरि अधुरै बनेको छ। विगत १६ वर्षदेखि उपविजेतामै सीमित रहँदै आएको नेपाल यसपटक पनि इतिहास रच्न असफल भएको हो।

समूह चरणमा नेपालले पहिलो खेलमा भुटानलाई १–० गोलले पराजित गरेको थियो भने अन्तिम खेलमा श्रीलङ्कालाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो।

सन् २०१० देखि आयोजना हुँदै आएको साफ महिला च्याम्पियनसिपमा नेपाल अधिकांश संस्करणमा अन्तिम चारभित्र पुग्दै आएको भए पनि उपाधि जित्न भने सकेको छैन। सन् २०२२ को फाइनलमा पनि बङ्गलादेशले नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो।

प्रतिक्रिया दिनुहोस्