तीन दशकदेखिको पानीघट्ट, तेजनारायणको जीवनको आधार



बागलुङ,जेठ २७ । बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङमा एउटा यस्तो पानीघट्ट छ, जसको जाँतोसँगै तीन दशकदेखि एक व्यक्तिको जीवनयात्रा पनि निरन्तर घुमिरहेको छ। आधुनिक प्रविधि, विद्युतीय मिल र कुटानी–पिसानी केन्द्रहरूको विस्तार भए पनि तेजनारायण श्रेष्ठको पानीघट्ट अझै गाउँलेहरूको भरोसाको माध्यम बनेको छ।

तीस वर्षअघि आफ्नै मेहनत र लगानीमा स्थापना गरेको पानीघट्टलाई श्रेष्ठले आजसम्म निरन्तर सञ्चालन गर्दै आउनुभएको छ। गाउँमा सडक, सञ्चार र आधुनिक उपकरणको पहुँच बढे पनि उहाँको परम्परागत पेसा भने उस्तै गतिमा चलिरहेको छ। दैनिक जीवनयापनको मुख्य आधार नै यही पानीघट्ट भएको उहाँ बताउनुहुन्छ।

“तीस वर्षअघि आफैँले स्थापना गरेको पानीघट्ट अझै चलाउँदैछु। घर खर्च र आफूलाई पुग्ने अन्न यही घट्टबाट आउँछ। पहिला खरले छाएको थियो, अहिले जस्ताले छाएको छु। मकैका लागि छुट्टै र गहुँ–कोदोका लागि छुट्टै घट्ट बनाएको छु,” श्रेष्ठले सुनाउनुभयो।

ग्रामीण भेगका किसानका लागि पानीघट्ट अझै पनि अन्न पिस्ने सहज र भरपर्दो माध्यम बनेको छ। श्रेष्ठले अन्न पिसेबापत एक पाथी बराबर पाँच मुठी अन्न वा नगदमा प्रतिपाथी १० रुपैयाँ लिँदै आउनुभएको छ। परम्परागत हिसाबले चल्दै आएको यही प्रणालीले उहाँको जीविकोपार्जनमा टेवा पुर्‍याइरहेको छ।

उमेर ढल्किँदै गए पनि श्रेष्ठले आफ्नो पुख्र्यौली सीप र पेसालाई निरन्तरता दिनुभएको छ। उहाँको पानीघट्ट केवल अन्न पिस्ने ठाउँ मात्र होइन, गाउँको संस्कृति, परम्परा र आत्मनिर्भरताको प्रतीकसमेत बनेको छ।

पानीलाई पाइप वा काठको ढुङ्ग्रोबाट तीव्र गतिमा खसालेर त्यसको शक्तिबाट जाँतो घुमाइने यो प्रविधि पुस्तौँदेखि नेपाली ग्रामीण जीवनसँग जोडिएको छ। आधुनिक उपकरणको प्रयोग बढ्दो क्रममा रहे पनि दर्लिङका तेजनारायण श्रेष्ठजस्ता व्यक्तिहरूले परम्परागत ज्ञान र सीपलाई जोगाइरहेका छन्।

समय परिवर्तनसँगै धेरै पुराना पेसा हराउँदै गएका बेला तीन दशकदेखि निरन्तर घुमिरहेको यो पानीघट्टले गाउँको जीवनशैली, श्रम र परम्पराको कथा अझै सुनाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्