नुवाकोटको दुप्चेश्वरको इतिहास बोल्ने शालिक : गोठालो बासु तामाङलाई सम्मान, आस्थाको धाममा थपियो नयाँ चिनारी



नुवाकोट, असार २८ । कुनै समय आफ्ना गाई चराउँदै जंगल पुगेका एक गोठालाले देखेको अद्भुत दृश्यले आज नुवाकोटको दुप्चेश्वरलाई देशकै प्रसिद्ध धार्मिक तीर्थस्थलका रूपमा चिनाएको विश्वास गरिन्छ। पुस्तौँदेखि सुनिँदै आएको त्यही लोककथाका पात्र गोठालो बासु तामाङ अब दुप्चेश्वर धाम परिसरमै शालिकका रूपमा जीवित भएका छन्।

पशुपतिनाथको पर्यायका रूपमा परिचित दुप्चेश्वर धाममा महादेवको शिला पत्ता लगाउने श्रेय पाएका स्थानीय करेजुङ निवासी परापूर्वकालका गोठालो बासु तामाङको अर्धकदको पित्तल शालिक तथा नेपालको राष्ट्रिय जनावर गाईको मूर्ति निर्माण गरी सार्वजनिक गरिएको हो। शालिकले दुप्चेश्वर धामसँग जोडिएको ऐतिहासिक कथालाई नयाँ पुस्तासम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष तथा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापा र गाउँपालिका उपाध्यक्ष माकुरी तामाङले संयुक्त रूपमा शालिक तथा गाईको मूर्तिको अनावरण गरेका हुन्। कार्यक्रममा जनप्रतिनिधि, कोषका पदाधिकारी, आरती समूह, कर्मचारी, तीर्थयात्री तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार बासु तामाङको योगदानको सम्मान, ऐतिहासिक स्मृतिको संरक्षण र धार्मिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले शालिक निर्माण गरिएको हो। कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार शालिक र गाईको मूर्ति निर्माणमा करिब पाँच लाख रुपैयाँ खर्च भएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले दुप्चेश्वर धाम नेपालकै महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको बताए।हिन्दू र बौद्ध समुदायको साझा आस्थाको केन्द्रका रूपमा परिचित धाममा सडक पहुँच विस्तार भएसँगै आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको आगमन निरन्तर बढिरहेको उनले उल्लेख गरे।

दुप्चेश्वर धाममा धार्मिक गतिविधि पनि क्रमशः विस्तार हुँदै गएको छ। शनिबार मात्रै भक्तजनबाट एक लाख २० हजार ४०५ रुपैयाँ भेटी संकलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ।त्यसमध्ये मध्यान्ह आरतीमार्फत ४८ हजार ९६० रुपैयाँ र क्युआर कोडमार्फत एक हजार ४०५ रुपैयाँ प्राप्त भएको हो। धाममा प्रत्येक दिन साँझ ५ बजे भेटी गणना गर्ने व्यवस्था गरिएको छ।

गोठालोको साधारण जीवनबाट सुरु भएको एउटा किंवदन्ती आज शालिकको रूपमा दुप्चेश्वर परिसरमा उभिएको छ। यसले केवल एक व्यक्तिको सम्मान मात्र गरेको छैन, दुप्चेश्वर धामको उत्पत्तिसँग जोडिएको इतिहास, स्थानीय संस्कृति र धार्मिक आस्थालाई पनि थप जीवन्त बनाएको छ।

प्रतिक्रिया दिनुहोस्