महाकवि देवकोटाको ६७औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस आयोजना गर्न लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो महाकवि देवकोटा सङ्ग्रहालय, मैतीदेवीमा ‘महाकवि देवकोटा मिथ र यथार्थ’ विषयक गोष्ठी आयोजना हुँदैछ ।गोष्ठीमा देवकोटाका छोरा पद्म देवकोटाले स्मृतिपत्र र महादेव अवस्थीले समीक्षापत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते अर्थात् कार्तिक कृष्ण औँसीका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । उहाँको निधन विसं २०१६ भदौ २९ गते भएको हो ।
दश वर्षको उमेरदेखि कविता लेख्न थाल्नुभएका देवकोटाले नेपाली साहित्यमा महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कवितासहित सयभन्दा बढी कृति दिनुभएको छ । उहाँका कृतिले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएका छन् ।नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ नेपाली भाषामा प्रकाशित हालसम्मकै सर्वाधिक बिक्री भएको पुस्तकका रूपमा परिचित छ ।
स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका सिर्जनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता स्पष्ट देखिन्छ । उहाँका रचनामा पूर्वीय र पाश्चात्य दर्शनको सुन्दर संयोजनसमेत पाइन्छ ।
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त त्रिपाठी ‘निराला’को संयुक्त रूपसँग तुलना गर्नुभएको मान्यता छ ।नाट्यसम्राट बालकृष्ण समले पनि देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितामार्फत तीनपटक जन्मेको बताउनुभएको थियो ।
नेपाली साहित्यका कृतिलाई विदेशी भाषामा अनुवाद गराउनुका साथै विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा देवकोटाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँले अङ्ग्रेजी साहित्यका १५ जना गद्य लेखकका निबन्ध चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’समेत प्रकाशित गर्नुभएको थियो ।
विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री रहँदा उहाँले नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनुभएको थियो । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु पनि देवकोटाको महत्वपूर्ण देनका रूपमा स्मरण गरिन्छ ।
देवकोटाको सिर्जनात्मक क्षमता असाधारण थियो । उहाँले तीन महिनामै ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएको थियो । चरम आर्थिक अभाव, पारिवारिक वियोग र राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्यिक कृति सिर्जना गर्नु उहाँको विशिष्ट साहित्यिक परिचय हो ।
देवकोटाले आफ्नै ‘पागल’ कवितालाई अङ्ग्रेजीमा अनुवाद गर्नुभएको थियो । पाश्चात्य ग्रीसेली स्रोतका विभिन्न गाथालाई नेपालीकरण गर्दै उहाँले ‘मायावीनी’, ‘सुन्दरी प्रोजर्पिना’जस्ता खण्डकाव्य तथा ‘प्रमिथस’ महाकाव्य सिर्जना गर्नुभएको थियो ।
कवि–प्रतिभा, सिर्जनाको गुणात्मकता र साहित्यमा दिएको योगदानका दृष्टिले देवकोटा नेपाली साहित्यका अद्वितीय प्रतिभाका रूपमा आज पनि उत्तिकै स्मरणीय हुनुहुन्छ ।

