बाढीपछि विदुरमा भग्नावशेष हटाउने काम तीव्र, ९ स्काभेक्टर र ७ जेसिभी परिचालन
नुवाकोट,भदौ २९ । नुवाकोटको विदुर नगरपालिकाले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा जमेको लेदो, गेग्रान तथा भग्नावशेष हटाउने कामलाई तीव्रता दिएको छ।
बाढीबाट प्रभावित वडा नं. १ को ढुङ्गे र त्रिशूली बजार, वडा नं. ३ का विभिन्न स्थान तथा वडा नं. ५ को देवीघाट क्षेत्रमा पुरिएका तथा क्षतिग्रस्त संरचनाबाट लेदो, गेग्रान र भग्नावशेष हटाउने काम भइरहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार प्रभावित क्षेत्रमा सफाइ तथा पुनःव्यवस्थापनका लागि नौ वटा स्काभेक्टर, १० वटा टिपर र सात वटा जेसिभी परिचालन गरिएको छ। बाढीका कारण अवरुद्ध भएका सडक खुलाउनसमेत हेभी उपकरण प्रयोग भइरहेको छ।
वडा नं. ३ स्थित छत्रेफाँट आसपास तथा वडा नं. १० को केराघारी क्षेत्रमा अवरुद्ध सडक सञ्चालनमा ल्याउन नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ।
बाढीबाट भएको क्षतिपछि नगरवासीको दैनिक जनजीवन सहज बनाउन आवश्यक सबै प्रयास भइरहेको नगरप्रमुख राजन श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार प्रभावित क्षेत्रमा भग्नावशेष हटाउने, सडक खुलाउने तथा आवश्यक पूर्वाधारलाई क्रमशः सञ्चालनमा ल्याउने कामलाई नगरपालिकाले निरन्तरता दिएको छ।
नगरपालिकाले बाढी प्रभावित क्षेत्रमा बाँकी रहेका अवरोध हटाउँदै नगरवासीको जनजीवन सामान्य अवस्थामा फर्काउन सक्दो प्रयास जारी राखेको जनाएको छ।

